काठमाडौं । कोसी प्रदेशमा नयाँ सरकार गठनका लागि आज दाबी प्रस्तुत गरिने भएको छ । सत्तारुढ कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापालाई अगाडि सार्ने भएका छन् ।
९३ सदस्यीय कोसी प्रदेशमा गठबन्धनसँग ४६ मत मात्रै छ । त्यसैले सरकार गठन प्रयोजनका लागि गठबन्धनले सभामुख बाबुराम गौतमको नाम समावेश गरी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पेस गर्ने गरिने भएको छ ।
कोसी प्रदेश सरकार गठनका लागि गठबन्धनले राप्रपालाई सामेल गराएर सरकारलाई पूर्णता दिने भने पनि राप्रपाले विमति जनाएपछि सभामुखको नाम समावेश गरेको छ । तर एमालेले भने सभामुखको नाम समावेश भए अस्वीकार गर्न प्रदेश प्रमुख खापुङलाई पत्र बुझाइसकेको छ ।
एमाले कोसी प्रदेश संसदीय दलले कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त नगर्न प्रदेश प्रमुखसँग माग गरेको हो । गठनबन्धनले सभामुख समेतको संख्या जोडेर दाबी गर्न लागेको भन्दै त्यसलाई स्वीकार नगर्न एमालेले प्रदेश प्रमुखलाई दबाब दिएको हो ।
सभामुख बाबुराम गौतमलाई समेत गणना गरी गठबन्धनले कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री बनाउने दाबी पेस गर्न लागेको भन्दै एमाले संसदीय दलका नेता तथा कामचलाउ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख खापुङको ध्यानाकर्षण गराएका हुन् । एमालेले ध्यानाकर्षण गराउन जाँदा राप्रपाका भक्ति सिटौला पनि सँगै रहेकाले नयाँ सरकार गठन पेचिलो बनेको हो ।
प्रदेश प्रमुखले संविधानको धारा १६८(२) अन्तर्गत रहेर सरकार गठनका लागि दिएको म्याद आज सकिँदै छ । कुनै पनि एक दलको बहुमतले सरकार गठनका लागि क्रमसंख्या नपुग्ने भएकाले अहिले दलहरुले दुई दलबीच सहमति गरेर कोसी प्रदेश सरकारलाई पूर्णता दिनुपर्ने बाध्यता छ ।
कांग्रेस कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईका अनुसार राप्रपालाई गठबन्धनमा ल्याउने तयारी भइरहेको छ । अन्तिम समयसम्म राप्रपाले गठबन्धनमा सहभागी नहुने भए सभामुखलाई समेत जोडेर सरकार गठन गर्ने प्रमुख सचेतक राईको भनाइ छ । गौतम सभामुख भएसँगै उनले गएको पुस २८ गतेको कोसी प्रदेश सभाको बैठकमा सभामुख पदमा रहुन्जेलका लागि दलको सदस्यता त्याग गरेको घोषणा गरिसकेको गठबन्धनले जनाएको छ ।
संविधानविद् चन्द्रकान्त ज्ञवालीले सभामुख कुनै पनि दलको नहुने र कोसी प्रदेश सभाको साझा व्यक्ति भएको बताए । उनका अनुसार सभामुखलाई जोडेर सरकार गठन गर्नु संविधानविपरीत हुन्छ । कोशी प्रदेशमा बहुमत पु¥याउन ४७ सिट आवश्यकता पर्ने भएकाले कुनै पनि एक दलको सहमतिले मात्र सरकार गठन गर्ने सम्भावना छैन । कांग्रेसको कोसीमा २९ सिट छ । माओवादीको १२, एकीकृत समाजवादीको चार र जनता समाजवादीको एक सिट छ । विपक्षमा एमाले ४० र राप्रपाको ६ सिट छ ।




