राजनीति

कोशीका मुख्यमन्त्रीले विश्वासको मत माग्न बिहिबारलाई प्रदेशसभाको बैठक आह्वान

काठमाडौं । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मत माग्ने भएका छन् । बुधबार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि विपक्षी दलहरुसँग पनि विश्वासको मत माग्ने निर्णय गरेको हो ।

कोशी प्रदेश सरकारबाट गत जेष्ठ १७ मा जसपा र २३ जेठमा माओवादी केन्द्रले सरकार छाडेका थिए । त्यस पछि कोशि प्रदेश सरकार अल्पमतमा परेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार प्रदेश मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले बिहीबारका लागि प्रदेशसभाको बैठक आह्वान गरेका छन् । उक्त बैठकमा विश्वासको मत माग्ने निर्णय भएको उनको भनाइ छ ।

नेकपा एमाले संसदीय दलको बैठकले आफ्ना सांसदलाई बिहीबार दिउँसो १ बजे भन्दा अगाडि नै प्रदेशसभा भवन अगाडि उपस्थित हुन आग्रह गरेको भण्डारीले बताए ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सत्ता साझेदार नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीको पक्षमा ४६ मत छ ।

कोशी प्रदेशमा ४० सिट रहेको एमाले र ६ सिटको राप्रपा हाल सरकारमा छन् । विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २९, सभामुखबाहेक माओवादी केन्द्रका १२, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन् । सभामुखबाहेक दुवै पक्षमा समान ४६–४६ सांसद छन् । बराबरी भएको अवस्थामा सभामुखले निर्णयक मत दिनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *