काठमाडौं । कोशी प्रदेश सरकारले तेस्रो अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको तेस्रो अधिवेशन असार १४ गते दिउँसो १ बजे आव्हान गर्न प्रदेश प्रमुख पर्शुराम खापुङलाई सिफारिस गरेको हो ।
नेकपा माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री हिक्मत कार्की अल्पमतमा परेका छन् ।
प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले असार १४ गतेका बैठक आव्हान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको बताए । सोही अधिवेशनमा विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको तयारी छ ।
सरकारमा सहभागी दलले सरकारबाट बाहिरिएमा वा समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
कार्की नेतृत्वको सरकारलाई हाल एमालेको ४० र राप्रपाका ६ सांसदसहित ४६ सांसदको समर्थन छ । बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । ९३ जना प्रदेशसभा सदस्यहरुमध्ये नेपाली कांग्रेसका २९, नेकपा माओवादीको १३, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादीको १ सांसद छन् ।




