लुम्बिनी प्रदेश

बजेटमाथि छलफल गर्न बोलाइएको लुम्बिनी प्रदेशसभा बैठक स्थगित

बुटवल । आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्न आह्‍वान गरिएको लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ ।

असार १० गते आइतबार बस्ने भनिएको अधिवेशनको बाह्रौं बैठक स्थगित भएको हो । भूगोल र जनसंख्याका आधारमा समान बजेट आउनुको साटो मुख्यमन्त्री र अर्थमन्त्रीले आफूखुसी बजेट ल्याएको भन्दै सत्तापक्षबाटै विरोध भएपछि बैठक स्थगित भएको हो । सत्तापक्षीय धेरै सांसदले नै बजेट पूर्ण रुपमा सच्चाएर मात्रै पास गर्न सरकारसमक्ष माग गरेका छन् । लुम्बिनीमा मुख्यमन्त्री कांग्रेसका डिल्लीबहादुर चौधरी छन् भने अर्थमन्त्री माओवादी केन्द्रका धनबहादुर मास्की छन् ।

आइतबार बोलाइएको प्रदेशसभाको बैठक असार १३ गते बुधबारका लागि सारिएको छ । विशेष कारणवश बैठक स्थगित गरिएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले बताए । शुक्रबारको मितिमा सूचना प्रकाशन गरिए पनि प्रदेशसभा सचिवालयले त्यसलाई शनिबार मात्रै सार्वजनिक गरेको छ ।

सत्ता पक्षमा रहेका माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित थारुले बजेट संशोधनका लागि सभा स्थगित हुनु भनेको सरकारको अपरिपक्वता र गौरजिम्मेवारीपूर्ण व्यवहार भएको प्रतिक्रिया दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *