पाँचथर । साविक भारपा गाविसको गुराँसे नागीका कुलबहादुर लावती फिदिम नगरपालिका–४ थापाटार मुनि हेवाखोला पुल छेउमा बस्न थालेको ३० वर्ष भयो ।
किशोरावस्थादेखि नजिकैको बजार फिदिम धाउँदा हेवा खोलामा फड्के तरेको याद लावतीसँग ताजै छ ।
विसं २०४२ मा हेवा खोलामा पुल बनेपछि भने भारपा हुँदै अमरपुरसम्म सवारीसाधन चल्न थाले । त्यही पुलको सम्मुखमा तीन दशकदेखि बसिरहनुभएका लावतीले अहिले भने नयाँ अनुभूति गैर ।
पहिले फड्केबाट खोला तर्ने लावतीलाई अहिले घरअघिको सडकको पुल बग्योभन्दा विश्वास लागिरहेको छैन । “पहिले अहिलेभन्दा धेरै पानी पथ्र्यो ।
तर यो खोलाले फड्के पनि केही गरेको थिएन”, उहाँले भन्नुभयो, “अहिले त गाडी पुल नै बगाइलग्यो । अहिलेसम्म मैले यस्तो देखेको थिइनँ ।”
अत्यासलाग्दो भेलले लावतीको घरको एक तला पुरिएको छ । घरका संरचना हल्लिएका छन् ।
“यस्तै पानी आइरह्यो भने त बगाइलान्छ होला । हाम्रो त उपाय केही छैन्”, लावतीले भने, “भएको जग्गा पनि काम नलाग्ने बनाइदियो ।”
फालेलुङको शिर फालोटदेखि माझीटारस्थित तमोरसम्म फैलिएको हेवा खोलाले यस वर्ष तटीय क्षेत्रमा ठूलो आतङ्क सिर्जना गरेपछि स्थानीयवासी अचम्मित छन् ।
कुनै समस्याविना वर्षौंदेखि बसोबास गरिआएका उनीहरुले अहिले व्यवस्थित संरचना पनि बनाएका थिए ।
यात्रु आवतजावत गरिरहने भएकाले मानवीय चहलपहल पनि प्रशस्तै हुन्थ्यो । हेवामै दुई जलविद्युत् आयोजना सञ्चालनमा छन् ।
कतिपयले माछा र बङ्गुरपालन गरेका थिए भने धेरैले सागसब्जी र परम्परागत खेती गर्दै आएका थिए । अधिकांश बालीनाली बाढीले सखाप पारेको छ ।
यही असार २ गते राति हेवा खोलामा उर्लिएर आएको बाढीले फालेलुङको मेमेङदेखि, प्राङबुङ, सिदिन, याङनाम, भारपा र फिदिममा पर्ने विभिन्न संरचनामा क्षति गरेको छ
धेरै स्थानीयवासी हेवा खोला ‘बहुलाएर’ आएको प्रतिक्रिया दिन्छन् । यस खोलाले चार वटा सडक पुल नै बगाएको छ ।
थापाटार हेवा खोलाका कुलबहादुरकी श्रीमती मीनालाई राति हेवा खोलामा बाढी आउँदा सुरुमा सामान्य लागेको थियो ।
“खासै वास्ता गरेनौँ । भरे साह्रै बज्न थाल्यो”, उनले भने, “हामी निस्किसक्दा सडकसम्म पानी आइसकेको थियो । अब भागौँ भनेर कुद्यौँ ।
बाख्रा, कुखुरा केही बचाउन सकिनँ ।” तीन दशकमा आफूले कहिल्यै यस्तो नदेखेको उनको भनाइ छ । “आजसम्म यस्तो देखेको थिइनँ । हंशले ठाउँ छोडेको छ”, लावतीले भने ।
सोही स्थानका इन्द्रप्रसाद कटवाललाई पनि ठूलो बाढी आएको लागेकै थिएन । तर खोला साह्रै बजेपछि हेर्न भनेर निस्कँदा घरमा बाढी पस्न थालिसकेको कटवाल सुनाउछन् ।
“पानी परिरहेको थियो । कुडुडुङकुडुडुङ गर्यो । छाता ओढेँ, टर्च बोकेर डिलमा आएर हेरेँ । टर्च लगाएर हेर्दाहेर्दै झ्याप्पै आइहाल्यो”, उनले भने, “ओइ भाग, भाग, भाग भनेर चिच्याउँदाचिच्याउँदा सबै भाग्न चाहिँ सफल भयौँ । कान्छा भाइको त घरै गयो । धन्न साना नानीहरु बोकेर निकाले ।” दुई वर्षअघि पनि यहाँ बाढी आएको थियो ।
“सानोतिनो बाढीपहिरो आइरहन्थ्यो । यस्तो भोगेको थिएनँ”, कटवालले भन्नुभयो, “तर यसपालि घर बस्नै नहुने भयो ।”
इन्द्रप्रसादकी भाइबुहारी रिता कटवाललाई सुतिरहेकी छोरी निकाल्न खोज्दा खोलाले झण्डै बगायो । बाढीका कारण उनको घर र घरका कुनै पनि सामग्री बचेनन् ।
“घरसम्म बाढी आउँदा मात्रै थाहा पाएँ । छोरी चाहिँ निकाल्न बिर्सेछु । छोरीलाई उठाउने हुँदा किचन (भान्साघर)मा सुतेका ठूला नानीहरु देखेँ र कराएँ”, कटवालले भने, “उनीहरुलाई उठाउँदा मलाई त बाहिर निस्किनै गाह्रो प¥यो । घरमा भएका कुनै पनि सामग्री निकाल्न सकेनौँ ।”हेवा खोलाले कटान गरेको क्षेत्र देख्दा स्थानीयवासी चकित छन् ।
शताब्दीऔँदेखि हिलिहाङ गाउँपालिका–७ माझीटारको सानो टाकुरामा बसोबास गर्दै आएका माझी समुदाय अहिले बाढीको जोखिममा परेका छन् ।
हेवा खोलाले फिदिमतर्फबाट उक्त स्थानमा कटान बढाउँदै लगेको छ । बाढी आएको समयमा छाल घरसम्म आउन थालेपछि १० घरका सबै गाउँले भागेको स्थानीयवासी प्रकाश माझी बताउछन् ।
जमिन सबै हल्लिएकाले सहज बसोबासको स्थिति नभएको उनको भनाइ छ ।
हेवा खोलामा आएको बाढीले तटीय क्षेत्रका पाँच जनालाई बगाएको छ, सोमध्ये दुई जनाको शव फेला परिसकेको छ । पुल बगाएपछि मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध बनेका छन् ।
बाढीमा हराएका तीन जना अझै बेपत्ता
यही असार २ गते राति आएको बाढीमा परी हराएका पाँचथरका तीन जना अझै बेपत्ता छन् । यहाँको हेवा खोलामा आएको बाढीले बगाएका पाँच जनामध्ये दुई जनाको शव फेला परिसकेको छ ।
तर बाढीले बगाएका तीन जना हालसम्म बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले जानकारी दिए ।
बाढीमा बेपत्ता भएका फिदिम नगरपालिका–५ चोकमागु घर भई हेवाखोलामा गिटी कुट्ने ५५ वर्षीय सुन्दर भनिने राजकुमार राई, हिलिहाङ गाउँपालिका–७ घर भई तल्लो हेवाखोला जलविद्युत् आयोजनामा सुरक्षा गार्डका रुपमा कार्यरत ४५ वर्षीय तिलकुमार तामाङ र हिलिहाङ गाउँपालिका–७ माझीटार घर भई हेवा खोला किनारमा होटल सञ्चालन गर्दै आएका २८ वर्षीय आशिष माझी अझैसम्म फेला नपरेका हुन् ।
बेपत्ताको जिल्लाका सुरक्षा निकायसहित तमोर नदीसँग सीमा जोडिएका तेह्रथुम र धनकुटा जिल्लाबाटसमेत सुरक्षा निकायले खोजीको कार्य गर्दै आएको प्रजिअ मङ्ग्रातीले जानकारी दिए ।
बाढी र पहिराका कारण पाँचथरमा हालसम्म तीन जनाको ज्यान गएको छ । बाढीले बेपत्ता बनाएकामध्ये हिलिहाङ–७ माझीटारकी २५ वर्षीया एलिसा माझीको शव दुई दिनपछि धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ तेलियास्थित तमोर नदीको किनारामा फेला परेका थियो ।
बाढीले बगाएर बेपत्ता जिल्लाको फिदिम नगरपालिका–१० घर भई तल्लो हेवाखोला जलविद्युत् आयोजनामा सुरक्षा गार्डका रुपमा कार्यरत २८ वर्षीय हेमराज भनिने सञ्जोग लिम्बूको शव कयक गाउँपालिका–५ लोरिपादोभानस्थित तमोर किनारामा फेला परेको थियो ।
यस्तै पहिरामा पुरिएर घाइते भएकी पाँचथरको फालेलुङ गाउँपालिका–४ की आठ वर्षीया बालिका जुना सावदेनको उपचारका क्रममा असार ३ गते निधन भएको थियो ।
पहिराले पुरिएर जुनाकी मावलकी हजुरआमा ६७ वर्षीया रनमाया राई सामान्य घाइते भएको र उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।




