काठमाडौं । दुई वर्षअघिसम्म जोकोही खुसी देखिन्थे । अहिले यसको ठ्याक्कै उल्टो भएको छ । जोकोही निराश देखिन्छन् । कसैको परिवारमा सुख र शान्ति छैन । उल्टै परिवारमा झैझगडा हुन थालेको छ ।
मुनमुटाव सिर्जना भएको छ । बजारमा खाद्यान्नलगायत अन्य वस्तुको मूल्य प्रत्येक दिन बढेको छ । तर, काम गर्ने ठाउँमा वर्षौंदेखि तलब बढेको छैन । पाउनुपर्ने तलबसमेत पाएको छैन ।अहिले अधिकांश संघसंस्था, पसललगायतले पारिश्रमिक नै नदिई कामदारलाई निकालिरहेका छन् ।
जसले गर्दा बेरोजगारीको संख्या ह्वात्तै बढेको छ । सहकारीले वाक्कदिक्क नै बनाएको छ । ३५ हजार बढी सहकारीमा करोडौं बचतकर्ताले जम्मा गरेको खर्बौं रकम डुबेको छ । यसले अधिंकाश बचतकर्ता मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । बचतकर्ताहरूमाथि अर्को दुःखको भार थपिएको छ । अहिले बैंकले समेत बचतकर्ताको रकम फिर्ता गर्न छाडेको छ । बजारमा घरजग्गा, गाडी र सेयरको कारोबार ठप्प छ । तीन वर्षअघि करोडमा किनेको घरजग्गा अहिले बिक्री गर्न गाह्रो छ ।
पछिल्लो समय बजारमा ९८ प्रतिशत मानिसले आफ्नो घरजग्गा, गाडी र सेयर बैंक तथा वित्तीय संस्थामा धितो राखेर कर्जा लिएका छन् । तर, अहिले बजारमा यी क्षेत्रमा व्यापक मन्दी छ । यसले गर्दा ऋण त डुब्ने अवस्थामा पुगे नै, तर बैंक पनि सहकारीझैं भाग्ने अवस्थामा आइपुगेका छन् । अहिले बैंक टाट पल्टिने अवस्थामा पुगेको कुरा सर्वसाधारणले थाहा पाएपछि बैंकका बचतकर्ताहरू धमाधम आफ्नो बचत निकालिरहेका छन् । नेपालका नाम चलेका बैंकहरू डुब्ने अवस्थामा पुगेको जानकारहरू बताउँछन् ।
सहकारी डुब्दा वा भाग्दा बचतकर्ताहरू एकाएक करोडपतिबाट सडकपति हुन पुगे । अब बैंक डुब्दा यहाँ कति बचतकर्ताको कन्तबिजोग होला ? अहिले जोकोहीले बैंक डुब्ने अवस्थामा पुगेको थाहा पाइसकेका छन् । किनकि बैंक तथा वित्तीय संस्थाको अधिकांश कर्जा लगानी घरजग्गा, गाडी र सेयरमा छ । जुनमा अहिले मन्दी छाएको छ ।
हिजो बैंकबाट सय रुपैयामाँ निष्कासन गरेको सेयर दलालले ३२ सय कित्तामा बेचे । रोपनीको लाख रुपैयाँमा बिक्री नहुने जमिन दलालहरूले खण्डीकरण गरेर आनाकै करोडमा बेचे । पाँच रुपैयाँ किलोमा बिक्री नहुने फलाम भारतले गाडी बनाएर नेपाललाई करोड रुपैयाँसम्म बेच्यो । दलालले जति मूल्य भन्यो, त्यति नै खुसीखुसी भएर नेपालीले तिरें ।
सरकारले हिजो पनि घरजग्गा, गाडी र सेयरको मूल्य तोकिदिएको थियो र आज पनि तोकिएको नै छ । तर हामी छिट्टै नाफा कमाउन दलालको पछि लागेर यी क्षेत्रमा आफ्नो सम्पूर्ण लगानी ग¥यौं । तर, अहिले डुबेपछि सम्पूर्ण दोष सरकारलाई दिइरहेका छौं । बजारको पछिल्लो अवस्थाअनुसार घरजग्गा सात दशकअघिको मूल्यमा आएको छ । यसरी घरजग्गाको कारोबारमा पूरै मन्दी आउनुको प्रमुख कारण नै मानिससँग पैसा नहुनु हो । भएकाले पनि लुकाएका छन् ।
अहिले बजारमा जताततै सटर, फ्ल्याट, कोठा खाली छ वा घरजग्गा बिक्रीमा छ भनेर लेखिएको पोस्टर देखिन्छन् । घरधनीहरूले ठाउँअनुसार एउटा सटरको ५० हजारदेखि नौ लाख रुपैयाँसम्म लिन्थे । एक फ्ल्याटको २५ हजारदेखि दुई लाख रुपैयाँसम्म लिन्थे, त एउटा कोठाको चार हजारदेखि १३ हजार रुपैयाँसम्म लिन्थे । तर, अहिले उनीहरूको पनि आम्दानीमा मन्दी आएको छ । मुलुकभर ६० प्रतिशत सटर, कोठा, फल्याट खाली भइसकेका छन् । ४० प्रतिशत पनि भाडा तिर्न नसक्ने अवस्थामा पुगेका छन् । यसले कतिले रातारात आफ्नो सामान बोकेर फरार भएका छन् त कति घरधनीलाई नै आफ्नो सामानको जिम्मा लगाएर हिँडेका छन् ।
सर्वसाधारण जनता अहिले पनि सरकारसमक्ष पाँच सय र हजारको नोट प्रतिबन्ध गर्नुपर्ने माग राख्छन् । उनीहरू सरकारले यो उपाय अवलम्बन गरे मात्र बजारमा आएको मन्दी केही हदसम्म कम हुने बताउँछन् । तर, राष्ट्र बैंक र अर्थ मन्त्रालयले यो निर्णय गर्दैन । अहिले बजारमा कारण सबै व्यापारव्यवसायी डुबिसकेको कुरा सरकार अनदेखा गरिरहेको छ । यसबाटै सरकार जनताप्रति कति जिम्मेवार रहेको सजिलै अनुमान लगाउन सकिन्छ ।
केही दिनअघि राजधानीको माइतीघर मण्डलामा सहकारीबाट पीडित भएका बचतकर्ताहरूले निरन्तर आन्दोलन गरिरहेका थिए । सोही क्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि त्यहाँ पुगेकोमा उनले सरकारले सहकारीमा रकम राख्न नभनेको र बचतकर्ता आफैँले ब्याजको प्रलोभनमा बचत गरेको बताए । सरकारले नै हिजो सहकारी खोल्न लाइसेन्स दिएको हो । तर, सहकारीले बचतकर्ताको रकम फिर्ता नगर्दा अहिले सरकार पन्छिएको छ ।
अहिले पनि सरकारले भोकमरीको समस्या आउन नदिन के गर्ने र विदेशी ऋण कसरी मिनाहा गर्ने ? भनेर सोचेको छैन । सरकारी कर्मचारी जनताले तिरेको करबाट तलबभत्ता र सेवासुविधा उपभोग गरेर सुकिलामुकिला हुन्छन् । तर, जनताको काम गर्दैनन् । उनीहरू सर्पले माछा खान बसेझैं घुस खान पल्किएका हुन्छन् । अनि कसरी जनताले सेवासुविधा पाउँछन् त मुलुकको विकास हुन्छ ।
पछिल्लो समय सर्वसाधारण जनताले राज्यलाई राजस्व तिर्न छोडिसकेका छन् । जनता बेरोजगार छन् । आम्दानीको स्रोत छैन । अनि कर कसरी तिर्नु ? यता सरकार सरकारी खर्च धान्न नसक्ने अवस्थामा पुगेको छ । जसले गर्दा विदेशी ऋण बढेको बढ्यै छ । अहिले कर तिर्ने र विदेशी ऋण आफ्नो टाउकोमा बोक्ने जनता निराश छन् । तर, यिनै जनताले तिरेको करबाट तलबभत्ता खाने, सेवासुविधा लिने र विदेशी ऋण बोकाउने खुसीले गदगद छन् ।
पछिल्लो समय बैंक तथा वित्तीप्य संस्थाबाट ऋण लिएका ऋणी र व्यापार व्यवसायीले आत्महत्या गरेको पनि ज्वलन्त उदाहरण छन् । सर्वसाधारण जनता अहिले मुलुकमा सरकार नभएको दाबी गर्छन् । यदि सरकार भएको भए यस्तो अवस्था नआउने उनीहरूको ठम्याइँ छ । किनकि सरकार भनेको जनता र राष्ट्रको हितमा काम गर्ने जिम्मेवार संस्था हो । तर, यहाँ त जनताको जीवनस्तर उम्काउने भन्दा पनि उनीहरूलाई कसरी डुबाउने भन्नेतिर सरकार लागिपरेको जनताको भनाइ छ ।




