
काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अहिले पैसा विना कुनै पनि काम नहुने प्रवृत्ति बढेको गुनासो गरेका छन् ।
एकीकृत समाजवादी निकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनको प्रथम राष्ट्रिय महाधिवेशनको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै अध्यक्ष नेपालले भ्रष्टाचारविरुद्ध कलम चलाउन आग्रह गरे । अहिले जताततै भ्रष्टाचार देखिन थालेको नेपालको भनाइ थियो ।
‘समाजमा भ्रष्टाचार नाङ्गो रूपमा आएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण त्यसैको उदाहरण हो’, पूर्व प्रधानमन्त्री नेपालले भने, ‘पैसा विना कुनै पनि काम नहुने प्रवृत्ति बढेको छ ।’ उनले पत्रकारलाई यस विरुद्ध लाग्न आग्रह गरे । पत्रकारले कसैप्रति आग्रह–पूर्वाग्रह नराखी लेख्नुपर्ने नेपालको भनाइ थियो । ‘असल कामको चर्चा होस् । समाजमा सबै सकारात्मक–नकारात्मक कुरा हुन्छन्, सबै आओस्’, उनले भने, ‘आग्रह–पूर्वाग्रह गर्नुपर्ने कुनै आवश्यकता छैन ।’

सकारात्मक कुरा गर्दा एकपाखे नहुने पनि उनले आग्रह गरे । ‘सकारात्मक र नकारात्मक दुवै कुरा उजागर गर्नुहोस् । सकारात्मक हेर्न थाल्यो भने एकपाखे हुने, अन्धभक्त हुन खोज्ने नगर्नुहोस्’, नेपालले भने, ‘आलोचनात्मक ढङ्गले सोच्नुहोस्, लेख्नुहोस् ।’
उनले संविधानको रक्षाका लागि सबै लाग्नुपर्नेमा जोड दिए । अहिले चारैतिरबाट संविधानमाथि प्रहार भइरहेको उनको भनाइ थियो । ‘संविधानले लोकतन्त्र, संघीयता, गणतन्त्रलाई सुनिश्चित गरेको छ । समाजवादमुखी मान्यतालाई अघि सारेको छ’, प्रतिगामीले संविधानमाथि प्रहार गरिरहेको उल्लेख गर्दै नेपालले भने, ‘संविधानको रक्षा गर्नुपर्ने जिम्मेवारी हाम्रो हो। संविधानलाई आँच आउने काम गर्न दिनु हुँदैन ।’