पर्यटन

नारायणीमा ‘क्रुजसीप’ सञ्चालनपछि बढे पर्यटक

नवलपुर । मध्य नेपालकै प्रमुख नदी नारायणीमा सञ्चालनमा आएको नेपालकै पहिलो क्रुजसीपले व्यावसायिक यात्रा प्रारम्भ गरेसँगै यस क्षेत्रमा पर्यटक आगमन वृद्धि भएको छ ।

क्रुजसीपका कारण नवलपुर र चितवनमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको होटल व्यवसायी बताउँछन् ।

गैँडाकोटको एलो हाउस रिसोर्टका सञ्चालक चीरञ्जीवी सिग्देल आफ्नो रिसोर्टमा आउने पर्यटकले क्रुजसीप चढ्न जाने गरेको बताउछन् ।

“नारायणी नदीमा क्रुजसीप सञ्चालनमा आएपछि गैँडाकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ” उनि भन्छन्, “केही पर्यटक घुम्न आएका बेला क्रुजसीप जाने गरेका छन् भने केही भने क्रुजसीप चढ्नकै लागि मात्र आउने गरेका छन् ।”

क्रुजसीप सञ्चालक संस्था राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका व्यवस्थापक विक्रम बस्याल दैनिक तीन चरणमा क्रुजसीप सञ्चालन भइरहेको बताउछ ।

“नियमित सेडुलमा पब्लिकका लागि दैनिक तीन सिफ्ट क्रुज सञ्चालनमा छ” उनि भन्छन्, “दश जनाभन्दा बढीको समूहमा आउनेहरुका लागि उनिहरुकै समयमा प्राइभेट क्रुज पनि सञ्चालन भइरहेको छ ।” अहिले दिउँसो १, ३ र ५ बजे पब्लिक क्रुज सञ्चालनमा छ । आजदेखि ‘इभिनिङ क्रुज’ (सन्ध्याकालीन क्रुज) पनि सञ्चालन हुने व्यवस्थापक विक्रम बताउछन् ।

“पछिल्लो समय बढ्दै गएको गर्मीका कारण आजदेखि इभिनिङ क्रुज सञ्चालन गर्ने तयारी गरेका छौँ” उनि उल्लेख गर्छन्, “बेलुका ६–७ बजेको समयमा सञ्चालन हुने इभिनिङ क्रुजमा सूर्यास्तको मनमोहक दृश्यावलोकन पनि गर्न सकिन्छ ।” कम्पनीले यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै केही दिनभित्रै क्रुजसीपका आकर्षण प्याकेज घोषणा गर्ने तयारी गरिरहेको छ ।

“देशका विभिन्न स्थानबाट व्यक्तिगत तथा सामूहिकरुपमा क्रुजसीप चढ्न यात्रुहरु आउने गरेका छन् ” व्यवस्थापक विक्रम बस्याल भन्नुहुन्छ, “सहकारी, बीमा कम्पनी र विभिन्न सङ्घसंस्थाबाट क्रुज चढ्नकै लागि आउने गरेको हामीलाई जानकारी गराउँछन् ।”

प्रतिव्यक्ति ७०० को टिकट काटेपछि नारायणी नदीमा एक घण्टासम्म क्रुजसीपमा रमाउन पाइने उल्लेख गर्दै उनि पाँचदेखि १० वर्षसम्मका बालबालिकाका लागि रु ५०० को टिकटको व्यवस्था गरिएको उल्लेख गर्नुहुन्छ । टिकट काटेर क्रुजमा सवार गर्ने सबै यात्रुलाई ‘वेलकम ड्रिङ्क्स’ दिएर स्वागत गर्ने गरिएको र उनीहरूको रु १० लाख बराबरको बीमा गरिएको छ ।

साथै कुनै भवितव्य आइपरेमा लाइफ गार्डकोसमेत व्यवस्था गरिएको छ । क्रुजसीपभित्रै रेष्टुराँ सञ्चालनमा छ ।

बजारका होटल तथा रेष्टुराँकै मूल्यमा क्रुजसीप रेष्टुराँमा खाजा तथा खानालगायत पेयपदार्थ उपलब्ध गराइने व्यवस्थापक बस्यालल बताउछन् ।

क्रुजसीपभित्र रेष्टुराँसहित सांस्कृतिक कार्यक्रम गर्न आकर्षक स्टेज, बैठक तथा गोष्ठीका लागि कक्ष सेल्फी प्वाइन्ट तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिटहरु राखिएका छन् ।

तीन तलाको क्रुजमा एकैपटकमा दुई सय यात्रु चढ्न मिल्ने क्षमता छ । क्रुजसीपमै बसेर विवाह, व्रतबन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठलगायत गतिविधि गर्न सकिन्छ ।

नवलपुरको मध्यविन्दु नगरपालिकाबाट क्रुजसीपको यात्रा गर्न आउनुभएकी आरती शर्मा पहिलो पटक क्रुजसीप चढ्न पाउँदा निकै उत्साहित भएको बताउछन् ।

“यो नेपालकै नौलो प्रयोग हो, क्रुजको यात्रा रमाइलो हुन्छ भन्ने सुनेको थिएँ, आज आफैले अनुभव गर्न पाएँ” उनि भन्छन्, “अहिले छोटो दूरीमा यात्रा गराइने रैछ, यात्रा गर्ने दूरी अलि बढाउँदा रमाइलोसँगै नारायणी किनारको दृश्यावलोकन पनि गर्न पाइन्थ्यो ।” छोटो समयका लागि घुम्ने ठाउँको रुपमा क्रुजसीपको यात्रा उपयुक्त स्थान भएको शर्माको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *