काठमाडौं । स्याङ्जाको गल्याङ नगरपालिका–११ बन्नेडाँडास्थित कृष्णगण्डकी आलमदेवी गौधाम एवम् आध्यात्मिक चिन्तन संस्थामा रहेका गाई पाल्न समस्या हुँदै गएको छ । गोठ र चरन क्षेत्र गरी ११ रोपनी क्षेत्रफलमा फैलिएको गौधाममा लोपोन्मुख स्थानीय जातका १९ काठे गाई छन् ।
गोठाला खर्च, गाईका लागि घाँस, पराल, गोठ तथा चरन क्षेत्रको अभाव भएपछि समस्या हुँदै गएको हो । कृष्णगण्डकी आलमदेवी गौधाम व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष नारायण ढकालले सोचेजस्तो सहयोग नआउँदा गाईपालनमा समस्या थपिँदै गएको बताए ।
धार्मिक र चिकित्सकीय हिसाबले गाई महत्वपूर्ण भए पनि पछिल्लो समय हेलाको विषय बनेको छ”, उनले भने , “दिनमा पाँच÷सात जनाको गाई पाल्दिनुप¥यो भनेर फोन आउँछ, गौपालक कर्मचारीलाई तलब व्यवस्थापन, गाईको आहार र चरन क्षेत्रको समस्या भएकाले थप गाई राख्न सकेका छैनौँ ।”
स्थानीय तहको अघिल्लो सरकार हुँदा रु एक लाख र नयाँ सरकार आएपछि गौधामका लागि रु दुई लाख सहयोग प्राप्त गरेको उनले बताए । ढकालले दुईजना कर्मचारीको मासिक तलब रु १५÷१५ हजार नगरपालिकाले व्यवस्थापन गरिदिए गौधाम सञ्चालनको जटिलता केही अन्त्य हुने सुनाए । उनले गाई संरक्षणका लागि प्रदेश सरकारसँग पनि सहयोगको माग गरेको बताए ।
गौधाममा २३/२४ गाई पाल्न मिल्ने गोठ छ, कहिलेकाहीँ कोचाकोच गरेर राख्न बाध्य छौँ”, उनले भने , “दुई गोठाला बिहान ६ देखि बेलुकी ७ बजेसम्म गाईको दैनिक हेरचाह गर्छन् ।”
हाल आजीवन सदस्य बनेका र दाताले दिएको रकम तथा घाँस परालले गौधाममलाई जसोतसो चलाएको उनले बताए । गाई गौधाममा ल्याउनेलाई आजीवन सदस्य बनाएर रु पाँच हजार एक सय लिने प्रावधान बनाइएको छ । त्यसले पनि थोरै सहयोग गरेको छ ।
दाताबाट सोचेजस्तो सहयोग नआउँदा गाई संरक्षणमा समस्या भएको गोठाला महेश कुँवरले बताए। “गाईलाई आहारा र चरन क्षेत्रको समस्या छ”, उनले भने , “अहिलेसम्म बल्लबल्ल चलाएका छौँ, हामीलाई पनि खान बस्न समस्या छ ।”
नगर उपप्रमुख हेमा न्यौपानेले गौ संरक्षणका लागि विगतका वर्षमा पनि नगरपालिकाले बजेट विनियोजन गरेर काम गरेको बताईन । उनले संरक्षण गरेका स्थानमा भएका जटिलताको अध्ययन गरेर आउने दिनमा समस्या समाधानका लागि पहल र प्रयास गर्ने प्रतिबद्धता जनाईन ।
गाई धार्मिक र औषधीय दृष्टिकोणले महत्वपूर्ण भए पनि पछिल्लो समय लोप हुँदै जानु अत्यन्त दुखद पक्ष हो”, उनले भने , “सामूहिक छलफलद्वारा गाईपालनतर्फ सबैको आकर्षण कसरी बढाउनुपर्छ, निचोड निकाल्नैपर्छ, सरोकारवालाहरुले विषय उठाएको खण्डमा नगरपालिकाले गम्भीरतापूर्वक पहल र प्रयास गर्ने छ ।”




