काठमाडौं । काठमाडौँमा आजबाट सुरु हुन लागेको ललितकला क्षेत्रको उत्सव मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ को सबै तयारी पूरा भएको छ । यही जेठ ३० गतेसम्म १५ दिन सञ्चालन हुने प्रदर्शनीमा यसपटक सबैभन्दा बढी छ सय नौ जना कलाकारका छ सय ९५ वटा चित्र (सिर्जना) समावेश गराइने भएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रदर्शनीको उद्घाटन समारोहका बाहेक सबै तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रदर्शनीको उद्घाटन गर्नेछन।
यसपटकको प्रदर्शनी जेठ १५ गतेबाट ३० गतेसम्म प्रतिष्ठानको कार्यालय नक्साल र नेपाल कला परिषद् बबरमहलमा हुनेछ । गत वर्षको प्रदर्शनीमा भने तीन सय ६५ कलाकारका चार सय २६ कलाकृति दर्ता भएकामा तीन सय ४१ कलाकारका तीन सय ८९ कलाकृतिमात्रै प्रदर्शनीका लागि छनोट भएका थिए । यसपालि भने झण्डै दोब्बर कलाकृति समावेश गरिने भएको छ ।
प्रतिष्ठानले नियमित पुरस्कार तथा सम्मानसहित यस वर्षबाट कला प्रवर्द्धन सम्मान तथा प्रदर्शनीको सद्भावनादूतका रूपमा अनिल चित्रकारलाई सम्मान गर्न लागेको छ । विगतमा वैशाख २ गते गर्ने गरिएको यस प्रदर्शनी यस वर्ष गणतन्त्र दिवसको सन्दर्भ पारेर जेठ १५ गते गर्न लागिएको छ ।
यसपालि ‘म, मेरो देश र मेरो सिर्जना’ मुख्य विषय राखेर प्रदर्शनी हुन लागेको प्रदर्शनीको कार्यकारी समितिका संयोजक प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिए । यस वर्ष प्रदर्शनीका बारेमा उत्कृष्ट रिपोर्टिङ गर्ने पाँच जनालाई नगदसहित पुरस्कृत गरिने छ भने विभिन्न तहमा अध्ययनरत् विद्यार्थीमध्ये प्रदर्शनीको समीक्षा लेख्नेहरूबाट पहिलो, दोस्रो, तेस्रो र विशेषगरी आठ जनालाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
यस वर्ष अरनिको राष्ट्रिय ललितकला सम्मान अग्रज कलाकार मदन चित्रकार र मानबहादुर दोङलाई प्रदान गरिने भएको छ । प्रदर्शनीको उद्घाटनका क्रममा दुई पत्रकारसहित चित्रकला विधामा राष्ट्रिय र प्रादेशिक पुरस्कारहरूसमेत प्रदान गरिनेछ ।




