काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले नीति तथा कार्यक्रममा प्रतिपक्षी दलका नेताहरूले ठिक कुरालाई पनि ठिक भन्न नसकेको बताएका छन् ।
शनिबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले विरोधका नाममा विरोध नगर्न आग्रह गर्दै भने, ‘यो फेरि रिराइट गर्ने कुरा ठिक हुन्छ त ? अनावश्यक निहुँ खोज्ने कुरा ? अव्जेशनको नाममा ठिक कुरालाई पनि बेठिक बनाउने कुरा गलत हो ।’
सांसद चौधरीले ठूला सांसदहरूले मनपरी रूपमा संसदमा बोल्न लागेको भन्दै प्रतिनिधिसभा नियमावली परिवर्तन गर्नुपर्ने समेत बताए । उनले प्रतिनिधिसभा नियमावलीको संशोधन गर्दै पूर्वप्रधानमन्त्री भइसकेका सांसदहरूलाई संसदमा बोल्ने समय निर्धारण गर्नुपर्ने व्यवस्था राख्नुपर्ने बताउँदै भने, ‘हामीले स्वतन्त्रसँग नेपाली जनता, राष्ट्र, समस्याको विषयमा बोल्न पाउनुपर्ने हो । तर आज ठूला सांसदहरूले बोल्दा मनपरी समय निर्धारण नहुने, सांसदले बोल्दा समय तोक्ने कुरा गलत छ । यसलाई सच्याउनुपर्छ ।’




