देश

प्रतिनिधिसभा बैठकः नीति तथा कार्यक्रमाथी आज पनि छलफल जारी रहने

काठमाडौं । नेपाल सरकारले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आज पनि छलफल जारी रहनेछ ।

आइतबारदेखि सुरु भएको उक्त छलफलमा आज पनि सांसदहरूले आफ्ना धारणा राख्ने भएका हुन् । जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न आज बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जानकारी दिएको छ ।

यसअघि सोमबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी सत्ता पक्षका सांसदहरूले नीति कार्यक्रम राम्रो रहेको बताउँदै कार्यान्यवनमा जोड दिएका थिए भने प्रतिपक्षका सांसदहरूले नीति तथा कार्यक्रमले अहिलेको मुलुकको समस्या समाधान गर्ने गरी कार्यक्रम नसमेटेको टिप्पणी गरेका थिए ।

सरकारको नीति तथा कार्यक्रममाथिको पहिलो दिनको छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो धारणा राखेका थिए । यस्तै छलफलको दोस्रो दिन सोमबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनलगायतका शीर्ष नेताले सम्बोधन गरेका थिए ।

२० जना सांसदले त नीति तथा कार्यक्रम संशोधनको सूचना नै दर्ता गराएका छन् । तर अहिले दर्ता भएका संशोधनको सूचनामाथि होस् या सांसदले छलफलमा भाग लिएर दिएका सुझाव नीति तथा कार्यक्रममा समेटिने सम्भावना न्यून छ । किनकि यसअघि पनि यस्ता सुझाव आउँदा प्रधानमन्त्रीले जवाफ दिने र जस्ताको तस्तै पारित गर्ने परिपाटी छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा प्रतिपक्षीले मात्रै नभएर सत्ता पक्षकै सांसदहरूले पनि संशोधन दर्ता गराएका छन् । तर संशोधनकर्ता सत्तारुढ दलकै सांसदलाई आफ्ना सुझाव समेटिनेमा विश्वास छैन ।

नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने सांसदहरूले नीतिगत भ्रष्टाचार नियन्त्रणका लागि खरिद ऐन संशोधन गर्नुपर्ने र संसदीय अनुगमनलाई महत्त्व दिनुपर्ने सुझाव दिएका छन् । कृषि उत्पादन वृद्धिका लागि भूमिको चक्लाबन्दी सम्बन्धी नीति नै बनाउनुपर्ने सुझाव सांसदहरूको छ ।

नीति तथा कार्यक्रममाथि प्रतिपक्षले विरोध गर्ने र सत्तापक्ष बचाउमा मात्र लाग्ने परिपाटी मात्रै हाबी हुँदै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *