काठमाडौं । संसद्को हिउँदे अधिवेशन लामो समय चल्दा बजेट अधिवेशनको तयारीका लागि पर्याप्त समय नहुने भएको छ ।
खास कामविनै हिउँदे अधिवेशनको समय लम्ब्याउँदा सरकारसँग बजेट अधिवेशनको तयारीका लागि समय कम भएको हो । दुर्इ अधिवेशनबीचको समय कम हुँदा पूर्व तयारीको काम टालटुले मात्रै हुने देखिन्छ ।
जेठ १५ गते बजेट पेस गर्नुभन्दा १५ दिनअघि प्री-बजेट छलफल गर्नुपर्ने हुन्छ । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअगाडि प्री-बजेट, नीति तथा कार्यक्रम पेस र छलफल, आर्थिक सर्वेक्षण पेसलगायतको काम गरिसक्नुपर्ने हुन्छ ।
अहिले संसद् सचिवालयले समयतालिका गृहकार्यमा जुटेको छ । प्री-बजेट छलफलका लागि तीनदेखि चार दिन लाग्छ, नीति तथा कार्यक्रमको छलफलका लागि पनि त्यति नै समय लाग्छ ।
छलफलमा उठेका विषय माथिको जवाफका लागि पनि केही दिन छुट्याउनुपर्ने हुन्छ । जसले गर्दा बजेटअगाडिको समय तालिका कम हुने भएको हो । छलफलमा आएका सुझाव बजेटमा समावेश गर्नुपर्ने भए पनि समयमा काम नगर्दा छलफल सधैं औपचारिकतामा सीमित हुने गरेको छ ।




