काठमाडौं । ठूला तीन दलले समयमा संसदीय समितिमा रहने सदस्यको नाम नदिँदा बुधबार प्रतिनिधिसभाको कार्यसूची परिमार्जन गरिएको छ । संघीय संसद सचिवालयले मंगलबार आजको संसद बैठकको सम्भावित कार्यसूची प्रकाशन गर्दै संसदीय सुनुवाई समिति र विशेष समिति गठनको विषय उल्लेख गरेको थियो ।
तर, कांग्रेस, एमाले र माओवादी केन्द्रले समितिमा रहने सदस्यको नाम नदिएपछि कार्यसूची परिमार्जन गरिएको हो । बुधबार बसेको परामर्श समितिमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारका अनुसार प्रमुख तीन ठूला दलले सदस्यको नाम नदिएपछि आजको बैठकमा समिति गठन प्रक्रिया अगाडि नबढ्ने भएको छ ।
सभामुख देवराज घिमिरेले छिट्टै नाम दिन दलका प्रतिनिधिहरुलाई ताकेता गरेका छन् । उनले भोलि (बिहीबार) बिहानसम्म सदस्यको नाम दिन दलहरुदलाई आग्रह गरेका छन् ।
संसदीय सुनुवाई समिति बन्न नसक्दा र संवैधानिक परिषद सम्बन्धी संसोधन विधेयक पारित हुन नसक्दा संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको ढोका खुल्न सकेको छैन । हाल प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र संयुक्त समितिको गठन हुन नसक्दा संसदको बिजनेश प्रभावित हुँदै आएको छ ।




