देश

रासायनिक विषादीको विकल्पमा मलमूत्र प्रयोग

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका गेमबहादुर गर्बुजाले सय भन्दा बढी प्लास्टिकका बोत्तलमा गाईभैंसीको मलमूत्र सङ्कलन गरेर राखेका छन । घराम्दीकै निर्मला फगामीले गोठको छेउमा पिसाब सङ्कलन हुने खाडल बनाएकी छन । खाडलमा जम्मा हुने भैँसी, गाई र गोरुको पिसाब फगामीले पनि ड्रम र बोत्तलमा सङ्कलन गरेर राखेकी छन ।
“खेतीबाली र तरकारीमा रोगकीरा व्यवस्थापन गर्न गाईबस्तुको पिसाब सङ्कलन गरेका हौँ,” उनले भनिन “रासायनिक मलको विकल्पमा जैविक कम्पोष्ट र विषादीको विकल्पमा गाईवस्तुको पिसाब प्रयोग गरेका हौँ ।” निकै खर्चिलो र मानव स्वास्थ्यका लागि प्रतिकूल मानिएका विषादीको विकल्पमा बाली संरक्षणका लागि घरेलु प्रविधिको प्रयोग गरिएको वडा सदस्यसमेत रहेका
गर्बुजाले बताए ।

एक सय पाँच घरधुरीको बसोबास रहेको घराम्दीका बासिन्दाले रासायनिक मलको विकल्पमा स्याउला र गाईबस्तुको गोबर कुहाएर प्राङ्गारिक मल प्रयोग गर्ने गरेको उनले बताए । “तापक्रम वृद्धि र मौसम परिवर्तनको असरले पछिल्लो समय नयाँ कीरा देखिएका छन,” घराम्दीका ६५ वर्षीय तिलक पुर्जाले भने , “मैले जानकारी पाएसम्म यो गाउँमा विषादी र रासायनिक मल प्रयोग गरिएको छैन् ।” आलु, गहुँ र मकै घराम्दीको मुख्य खेतीबाली हुन् ।
कीरा भगाउन सङ्कलित गहुँत खेतबारीमा छर्केने गरेका छन् । डडुवा नियन्त्रण गर्न गहुँतमा बोझो, केतुकी, खुर्सानी, टिमुरको पातको टुक्रा मिसाएर बनाएको जैविक विषादी प्रभावकारी भएको स्थानीय तीर्थ फगामीले बताईन ।

उनका अनुसार जैविक प्रविधिबाट उत्पादन भएको आलु र तरकारी स्वच्छ हुने भएकाले बजारमा माग उच्च छ । बेनी, कुश्मा, बागलुङ र पोखरामा घराम्दीको आलु खपत हुन्छ । आलु खेती घराम्दीवासीको प्रमुख आयस्रोत हो । यहाँबाट वार्षिक रु एक करोड भन्दा बढी मूल्यको आलु निकासी हुने पूर्व वडाध्यक्ष गमबहादुर फगामीले बताए ।

गाईबस्तुको पिसाब सङ्कलन व्यवस्थित गर्न भकारो सुधार गर्ने गाउँपालिकाले योजना बनाएको छ । वडा अध्यक्ष मइलन पुर्जाले भकारो सुधार र पिसाब सङ्कलन तथा भण्डारण गर्ने प्राविधिक ज्ञान सीप प्रदान गर्न तालिम सञ्चालन गरिने बताए । बजारमा ‘अर्गानिक’ कृषि उपजको माग बढेकाले जैविक खेती व्यवस्थित बनाउने योजना रहेको वडाध्यक्ष पुर्जाले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *