देश

चौतारो निर्माणमा जुटे दिदीबहिनी

काठमाडौं । तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित गुणादीमा रहेको मिलीजुली दिदीबहिनी समूहको सक्रियतामा व्यवस्थित चौतारो निर्माण गर्न लागिएको छ । गाउँघरतीर मेलापात, घाँस, दाउरा, गोठालो गर्दा थकाइ मार्ने र गर्मी समयमा शीतलता लिने चौतारा पछिल्लो समय नासिँदै जान थालेपछि संरक्षण गर्न जुटेका हुन् ।

विकास निर्माणका क्रममा बाटो र सडक छेउमा रहेका चौतारा ढालिने हुँदा यस्ता सम्पदाको अस्तित्व सङ्कटमा पर्दै गएकाले संरक्षणमा जुटेको समूहकी अध्यक्ष हिमा पौडेल खनालले जानकारी दिईन ।

नारी दिवसको अवसर पारेर बुधबार ज्येष्ठ नागरिक देवीलाल खनालले चौतारो निर्माणको शिलान्यास गरे । पुख्र्यौंली सम्पदाका रुपमा रहेको पाटी, पौवा, कुवा र चौतारोलगायतका उचित संरक्षणको अभावमा हराउँदै जान थालेकाले यसको संरक्षण गर्न कस्सिएको पौडेलको भनाइ छ ।

भावि पुस्तालाई पाटी, पौवा, कुवा र चौतारालगायतका विषयमा चिनाउन र जानकारी गराउन पनि कठिनाइ हुने खतरा देखिएको समूहका दिदीबहिनी एकजुट भएर अघि बढेको उनले स्पष्ट पारे । “म्याग्दे गाउँपालिकाबाट रु दुई लाख ६५ हजार र दिदीबहिनी समूहबाट रु एक लाख ७७ हजार गरी कूल रु चार लाख ४२ हजारको लागतमा निर्माण गर्न लागेको हौँ”, पौडेलले भने । चौतारा संरक्षण, रेखदेख तथा सरसफाइ आलोपालो गर्ने सहमति भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *