समाचार

बैशाख २३ मा मगरात राष्ट्रिय राजनीति सम्मेलन

काठमाडौं, ७ माघ । मगरात संघर्ष समितिले मगरात राष्ट्रिय राजनीति सम्मेलन गर्ने भएको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आगामी २०८० साल वैशाख २३ गते काठमाडौंमा सम्मेलनको आयोजना गरिएको जानकारी गराएको हो ।

‘हाम्रो देशको बहुभाषिक धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतमा देशकै कूल जनसंख्याको आधा भाग ओगटेको आदिवासी रैथाने मूलवासीको प्रमुख हिस्सा हामी मगर हौं । तापनि राज्यबाट निरन्तर बहिष्करणमा परिरहेका छौं । वास्तवमा भन्नुपर्दा विभेदीत र उत्पीडितको पर्यायवाची भएका छौं । यी महत्वपूर्ण सवाल र जायज अधिकारलाई स्थापित गर्न मगरात सभ्यताको जगमा टेकेर आन्दोलन र शान्तिपूर्ण विद्रोह गर्नका निमित्त मगरात राष्ट्रिय राजनीति सम्मेलन यही आउँदो २०८० वैशाख २३ गते राष्ट्रिय नाच घर, जमल काठमाडौंमा हुने जानकारी गराउन यो पत्रकार सम्मेलनको आयोजना गरिएको हो,’ –मगर संघर्ष समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ । मगर बुद्धिजीवि जीतमान पुन मगरले वर्गीय उत्पीडनले मगरात संर्घष समितिको जन्म भएको स्पष्ट पारे । नेपाललाई समृद्ध र भेदभाव रहित मुलुक बनाउनका लागि जातीय संगठनहरुको अहम भूमिका हुने उनको बुझाइ छ ।

‘नेपालको समृद्धिको लागि, सुशासन कायम गराउनका लागि र भेदभाव रहित देश बनाउनका लागि जातिय संगठनको जरुरी छ । नेपाल मगर संघ राज्यबाट मान्यता प्राप्त संघ हो । यस्ता संघ/संस्थाले जातीय उत्पीडनका बारेमा बोल्न सकेजस्तो मलाई लाग्दैन,’ उनले भने ।

राज्यबाट मान्यता प्राप्त मगर संगठनले राज्यको ढुकुटी सिध्याउने र राजनीतिक दलका जातीय भातृ संगठनले दलको झोला बोक्ने बाहेक अरु काम नगरेकाले मगरात राजनिति सम्मेलनको आवश्यकत्ता परेको उनको स्पष्टोक्ति छ ।

त्यसैगरी कार्यक्रमका अर्का वक्ता होम मगरले आफूहरुले सभ्यतालाई नै जग बनाएको बताए । कुनैपनि जातिले आफ्नो भाषा, भेषभूषा र संस्कृतिको संरक्षण गर्न सक्नुपर्ने उनको भनाई छ । मगरहरुले नेपालको राजनीतिक परिवर्तनमा उल्लेखनीय योगदान दिएको उनको दाबी छ । पृथ्वीनारायण शाहको नेपाल एकीकरण देखिलिएर माओवादीले गरेको जनयुद्धमा समेत मगरात समुदायको योगदान उल्लेखनीय रहेको उनको दाबी छ । सबै मगरले आफ्नो धर्म, संस्कार र संस्कृतिको जगेर्नाका लागि आन्दोलनमा समावेश हुने बेला आएको पनिउनले आवश्यकत्ता औंल्याए ।

मगरात संघर्ष समितिका केन्द्रीय सदस्य राम मगरले आफ्नो पहिचान र जातीय मुक्तिका निम्ति आफूहरु लागिरहेको बताए । माओवादीको दशवर्षे जनयुद्धसँगै विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तन मगरातको जगमा टेकेर नै सम्भव भएको उनले स्मरण गराए । मगरातभूमिले नै नयाँ नेपालको जन्म गराएको उनको दाबी छ । जातीयताका नारा र जातीय मुक्तिका लागि भनेर विभिन्न राजनीतिक दलले गरेको आन्दोलनले नेताहरुलाई केवल सत्तामा मात्रै पुर्याएको उनको गुनासो छ ।

‘नयाँ नेपालको जन्मदाता मगरात हो । मगरात सभ्यतालाई संरक्षण गर्नु यो राज्यको दायित्वहो । नयाँ नेपाल निर्माण गर्ने जातिहरुले आफ्नो सभ्यताको कुरा किन गर्नुपर्यो ? नेपालमा गणतन्त्र स्थापित भयो तर, यो आमजनताको लागि भयो कि भएन भन्ने स्पष्टै छ,’ उनले भने ।

नेपालका राजनीतिक दलले पश्चिमाहरुको सिद्धान्तलाई आत्मसात् गरेर नेपाली जातिहरुको संस्कृति र सभ्यता जोखिममा पारेको उनको आरोप छ ।

‘नेपालमा रहेको सबै जातिहरुको आ–आफ्नै मौलिकता र सभ्यताहरु छन् । यसलाई हामी व्यवस्थापन गर्छौ भनेर पश्चिमाहरुको आइडियोलोजी बोकेर आन्दोलन गराए । नेपालमा रहेका सबै जातजातिले आन्दोलनमा साथदिए । आफ्ना भावना, चाहना समेटिन्छ भनेर साथदिँदै आएको हो । आजती आन्दोलन समाप्त भएपछि पनि राज्यको विभेद नीतिका कारण अधिकार स्थापितहुन सकेन,’ उनले भने ।

उनले नेपालमा रहेका सबै जातजातिले नेपाली राजनीतिक दलको चरित्रलाई बुझिसकेको बताए । जात र पहिचानको एजेण्डा बोकेर सत्तामा पुगेका दलहरुले स्वार्थ पुरा गरेपछि कुनै काम नगरेको भन्दै उनले दःुखेसो पोखे । मगरातहरुको मुक्तिकालागि लड्नुको विकल्प नदेखेर आफूहरुले मगरात संघर्ष समितिको निर्माण गरेको उनको दाबी छ । आगामी दिनमा पार्टी भन्दामाथि उठेर जातीय मुक्तिका लागि लाग्न पनि उनले सबैसँग आग्रह गरे । साथै, मगरात क्षेत्रकाकुनै पनि प्रकृतिक स्रोत र साधनमा केन्द्र सरकारको कुनै अधिकार नभएको उनले बताए ।

आगामी वर्षको वैशाख २३ गते हुन लागेको राष्ट्रिय सम्मेलनबाट मगरात संघर्ष समितिले विद्रोहको विगुल फुक्ने उनले बताए । देशमा विद्यमान विभिन्न जातजातिहरुको संस्कृति र संस्कार जोगाउनका लागि पनि राष्ट्रिय राजनीति सम्मेलनको आवश्यकत्ता महशुस भएको उनले बताए । साथै, उनले सबै पत्रकारहरुलाई माटो र देशलाई लक्षित गरेर आफ्नो पत्रकारिता अगाडि बढाउन आग्रह गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *