नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाशिवरात्री पर्वका अवसरमा एक विज्ञप्ति जारी गर्दै शुभकामना व्यक्त गरेको छन् । उक्त विज्ञप्तिमा सभापति देउवाले नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरु भएको मुलुक हो । यस मध्ये हिन्दु धर्मावलम्वीहरुले अति श्रद्धाका साथ भगवान शिवको आराधना गरेर मनाइने “महाशिवरात्री” एक महत्वपूर्ण र पवित्र पर्व हो भन्दै प्रत्येक पर्वहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा छ । यसर्थ सम्पूर्ण हिन्दु धर्मावलम्वी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु, देउवाको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा देउवाले भनेका छन् हाम्रा यी सबै चाड–पर्वहरु हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहरहरु हुन् । यी चाड–पर्वहरुले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएका छन् ।




