काठमाडौं । क्यानडाको भिसा त्यागेर कैलालीको अत्तरियाका हिक्मत कठायत अहिले भैसीपालनमा रमाएका छन । उनले भैँसीपालनबाट राम्रो आम्दानी पनि गरेका छन । साइप्रसबाट ‘बिएससी नर्सिङ’ अध्ययन पूरा गरेका गोदावरी नगरपालिका– २ अत्तरियाका उनले विदेशमा छँदा मासिक तीन लाख आम्दानी गर्थे ।
पुख्र्यौली घर बझाङको छविस पाथिभेरा –२ भएका उनले नेपालमा ‘एचए’ पूरा गरी नर्सिङ पढ्न साइप्रस जानु भएको थियो । साइप्रसबाट अध्ययन सकेर स्वदेश फर्किएको केही समयपछि जागिर नपाएपछि उनि वैदेशिक रोजगारीमा गएका थिए ।
सुरुवातमा काम गर्न दुबई पुग्नुभएका उनि त्यहाँ मासिक एक हजार ६ सय डलरमा काम सुरु गरे । करिब १४ महिना दुबईमा काम गरेका हिक्मतलाई विदेशमा भइरहेको त्यो कमाइ चित्त बुझेन । दुबईको १४ महिनाको कामलाई विश्राम दिएर उनि कुवेतमा मासिक रू दुई लाख ९० हजारको जागिर गर्न थाले ।
“व्यक्तिगत खर्च कटाएर मासिक रू दुई लाख ९० हजार घर पठाउथे”, उनले भने , “त्यहाँ मैले चार वर्ष आठ महिना काम गरेँ ।” त्यसपछि बिदामा घर आएका उनि विदेश फर्केनन। बिदामा घर आएका उनले कुबेतको जागिर छाडेर सुरुमा कुखुरापालन सुरु गरे । कुखुरापालनबाट सुरुवाती चरणमा राम्रै आम्दानी भए पनि पछि भने लाखौँ घाटा बेहोर्नु प¥यो । “सुरुवाती चरणमा करिब चार लाख जति कमाएँ”, उनले भने , “पछि बजारको सिन्डिकेटका कारण घाटा बेहोरे ।” उृनले कुखुरापालनकै कारण विदेश छँदा कमाएको ४६ लाख नगद र छ तोला सुन पनि सकाए । कुखुरापालनबाट लाखौ डुबेपछि हरेश खाएका हिक्मतले फेरि विदेश जाने सोच बनाए । क्यानडाको भिसा लगाएर जाने तयारी गरेका उनले साथीको सल्लाहका कारण त्यहाँ गएनन।
“कुखुरापालनबाट लाखौ गुमाउँदा भएको तनावपछि विदेश जाने भनेर क्यानडाको भिसा लगाए, सबै तयारी पूरा भएर जाने तरखर गर्दै थिए साथीको सल्लाहले फेरि रोकिए”, उनले भने । “साथीको सहयोगमा बैंकबाट कर्जा लिएर भैँसीपाल्न सुरु गरेको हुँ । अहिले भैँसीपालनबाट राम्रो आम्दानी भइरहेको छ ।” कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ मा एक बिघा १२ कठ्ठा जमिन भाडामा लिएर उनले हेमा कृषि फार्म सञ्चालन गरेका हो ।
फार्ममा भैँसीपालन व्यवसाय सुरु गरेको करिब सात महिना पुग्न लाग्यो । भैसीपालनमा पनि सुरुवाती चरणमा आफूले घाटा बेहोर्नुपरेको उनले बताए । “साथीको सल्लामा अर्का एकजनामार्फत भैँसी किनेर ल्याए तर दूधै नदिने भएपछि आधा पैसामा बिक्री गरेँ” उनले भने । हाल उनको फार्ममा छ वटा भैसी छन् । दूध बिक्रीबाट मात्रै हाल मासिक करिब ७० हजार नाफा भइरहेको उनको भनाइ छ ।
“अहिले प्रतिलिटर रू ८० का दरले दैनिक ६४ लिटर दूध बिक्री गर्छु”, उनले भने , “प्रत्येक महिना दूध बढ्दै गइरहेको र आम्दानी पनि बढ्दै जाने विश्वास लिएको छु ।” कुल रू ५६ लाख लगानी भएको कुखुरापालन व्यवसाय डुबेपछि रू आठ लाख ऋण लिएर सुरु गरेको भैँसीपालनबाट भने सन्तुष्टि मिलेको उनको भनाइ छ । भैँसीपालनमा श्रीमती र एक जना आफन्तले सहयोग गर्दै आएका छन् ।




