काठमाडौँ । उत्तर कोरियाका नेता किम जोङ उन फेरि एकपटक चर्चामा छन् । विशाल सैन्य परेड अघि नै किम जोङ बेपत्ता भएको बताइएको छ । यो हप्ता उत्तर कोरियाको राजधानी प्योङयाङमा सैन्य परेड हुने भएको छ ।
किम जोङ उक्त कार्यक्रममा सहभागी हुने भनिएको थियो तर पछिल्लो ३५ दिनदेखि उनी सार्बजनिक कार्यक्रममा देखिएका छैनन् । दक्षिण कोरियाली समाचार च्यानल एनके न्यूजले किम जोङ आइतवार भएको कम्युनिष्ट पार्टीको बैठकमा समेत सहभागी नभएको बताएको छ । यो महत्वपूर्ण बैठकमा किम जोङ उन अनुपस्थित भएको यो तेस्रो पटक हो । यस्तो अवस्थामा अहिले उनको स्वास्थ्यको चर्चा चलिरहेको छ ।
फेब्रुअरी ८ मा कोरियाली जन सेनाको स्थापनाको ७५औं वार्षिकोत्सव हो । यस दिन देशैभर बृहत् कार्यक्रम गरिने भएको छ । अब किम जोङ यो परेडमा सहभागी हुने कि नहुने भन्ने चर्चा छ । दक्षिण कोरियाली सञ्चारमाध्यमले किम जोङ उन बिरामी रहेको बताएका छन् ।
तर, केही रिपोर्टका अनुसार किम जोङ उन फेब्रुअरी ८ मा हुने सैन्य परेडमा सहभागी हुन सक्नेछन् । उनको अनुपस्थितिबारे सरकारले अहिलेसम्म आधिकारिक जानकारी नदिएकोले यस्तो दाबी गरिएको हो । यो परेडमार्फत किमले अमेरिका र एसियाका अन्य सहयोगीहरूलाई आफ्नो आणविक क्षमता देखाउने छन् । गत हप्ता, उत्तर कोरियाले अमेरिकी सेनालाई अहिलेसम्मकै सबैभन्दा भारी आणविक शक्तिसँग मिलाउने धम्की दिएको फक्स न्यूजले जनाएको छ।
उत्तर कोरियाले २०२२ मा ७० भन्दा बढी ब्यालिस्टिक मिसाइलहरू परिक्षण गरेको छ, जसमा सम्भावित आणविक-सक्षम वारहेडहरू छन् । रिपोर्टका अनुसार यी क्षेप्यास्त्रहरू दक्षिण कोरियाको लक्ष्यमा आक्रमण गर्न वा अमेरिकी मुख्य भूमिमा पुग्न डिजाइन गरिएको हो । यही कारणले गर्दा अमेरिका, जापान र दक्षिण कोरियाले लगातार किम जोङ उनको सैन्य कारबाहीमाथि प्रश्न उठाइरहेका छन् ।
किम जोङ उन पटक पटक अचानक गायब हुने गर्दछन् । सन् २०१४ मा उनी ४० दिनसम्म कुनै पनि सार्वजनिक स्थानमा देखिएनन् । सन् २०२१ को अन्त्यमा पनि किम जोङ उन करिब ३० दिन देखिएका थिएनन् । किम जोङ मे २०२१ र अप्रिल २०२० मा पनि लामो समयसम्म बेपत्ता थिए। त्यतिबेला पनि उनको रोगबारे अड्कलबाजी गरिएको थियो ।




