देश

नाटक महोत्सवमा विद्यालयस्तरीय सहभागिता बढ्दो

काठमाडौँ । पोखरा थिएटरको आयोजनामा विगत चार वर्षदेखि विद्यालयस्तरीय नाटक महोत्सव आयोजना भइरहेको छ । पोखरास्थित गन्धर्व नाटकघरमा माघ १४ देखि तेस्रो संस्करणको नाटक महोत्सव चलिरहेको छ ।

विसं २०७६ मा पोखरा महानगरस्तरीय विद्यालय नाटक महोत्सव आयोजना गरेको थिएटरले त्यसपछि उक्त महोत्सवलाई प्रदेशस्तरीय बनाएको हो । सुरुमा कम सहभागिता भए पनि पछिल्ला दिनमा नाटकमा सहभागी विद्यालय बढेको नाटक महोत्सव संयोजक परिवर्तनले जानकारी दिए। पहिलो संस्करणमा विद्यालयमै गएर नाटक आफैले तयार गरिदिने अनि नाटकघरमा मञ्चन गर्ने शर्तमा अधिकांश नाटक आएको परिवर्तनले सम्झिए।

“त्यो समयमा हामीले १० वटा नाटक आउने अपेक्षा गरेका थियौंँ तर आठवटा नाटक आयो”, परिवर्तनले भने, “त्यो पनि लौन नाटक महोत्सव हुदैछ हामी आएर सिकाउँछौँं, अनि महोत्सवमा ल्याइदिन पयो भनेर हामीले आग्रह गरेपछि आएका हुन् ।” प्रदेश सरकारको सहकार्यमा प्रदेशस्तरीय बनाएपछि नाटकको सङ्ख्या ह्वात्तै बढेको उनले बताए । प्रदेशस्तरीय बनाएको पहिलो वर्ष ४० वटा नाटकले सहभागिता जनाएका थिए । त्यो समय भर्चुअल सहभागिताले पनि सङ्ख्या बढाएको उनले बताए ।

पहिलो प्रदेशस्तरीय नाटक महोत्सव गरेपछि दोस्रो संस्करणमा २४ नाटक सहभागी भए । त्यसबाट १२ नाटक छनोट भएर महोत्सवमा भाग लिए । त्यो बेला गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना भएर महोत्सवमा सहकार्य गरेको गन्धर्व नाटकघरका अध्यक्षसमेत रहनुभएका परिवर्तनले बताए।

पछिल्ला समय विद्यालयले नाटकको महत्व बुझ्दै गएको नाटक छनोट समितिका संयोजक तथा कलाकार प्रकाश घिमिरेले बताए। गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, राइट फर चिल्ड्रेनको सहकार्यमा अहिले तेस्रो गण्डकी प्रदेश विद्यालयस्तरीय नाटक महोत्सव सञ्चालन भइरहेको छ ।

यो पटकको महोत्सवमा २९ विद्यालयको स्क्रिप्ट प्राप्त भएको घिमिरेले जानकारी दिए। “पछिल्लो समयमा नाटकमा विद्यालयको निकै चासो बढेको छ । त्यसैले होला यो पटक २९ विद्यालयले स्क्रिप्ट पठाएका थिए”, कलाकार घिमिरेले भने, “यो पटक १०\१२ वटा मात्र राख्ने की भन्ने थियो तर सबै राम्रा भएकाले २० वटा छनोट गरेर मञ्चन भइरहेको छ ।” नाटकको विद्यालयस्तरमा महत्व बढ्दै गएकाले अबको केही वर्षमा गण्डकी प्रदेश नाट्य क्षेत्रमा अब्बल हुने उनको विश्वास छ ।

नाटकघरको आयोजनामा भएको प्रदेशस्तरीय महोत्सवले आफूहरुमा उत्साह थपेको नवलपुरको देवचुली १ को नेपाल नमुना मावीका शिक्षक सुदिप भुषालले बताए। विद्यालयमा अभिनय समिति बनाएरै काम थालेपनि अवसर नपाइरहँदा यो आयोजनाले राम्रो अवसर प्रदान गरेको पनि उनको भनाइ थियो ।

सोही विद्यालयबाट नाटकमा सहभागी विद्यार्थी कलाकार सुवास्ना ढकालले विद्यालय बाहिर पनि नाटक प्रदर्शन गर्ने मौका पाएको बताए । “हामीले स्कुलका कार्यक्रममा नाटक प्रस्तुत गरिरहेका थियौँ । स्कुलभन्दा बाहिर देखाउने मौका नै पाएका थिएनौँ”, सुवास्नाले भने, “यसले हामीलाई उत्साह बढाएको छ । आगामी दिनमा अझ राम्रो गर्न यसले सहयोग गर्छ ।”

यो पटकको महोत्सवमा १९ विद्यालयका नाटकसँगै अतिथि मञ्चनका रुपमा धुमधामको घुमघाम नाटक मञ्चन हुने महोत्सव संयोजक परिवर्तनले जानकारी दिए। महोत्सवमा छानिएका नाटकलाई प्रोत्साहनस्वरुप प्रति विद्यालय रु १०\१० हजार प्रदान गरिने उनले बताए । नाटकको आधार नै विद्यालय भएकाले आगामी वर्ष पनि विद्यालयस्तरीय नाटक महोत्सवलाई निरन्तरता दिने उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *