काठमाडौ । बर्दिबास नगरवासी अहिले पर्यटकीय पूर्वाधार विकासको कामले गति लिन थालेपछि उत्साहित भएका छन् ।
मधेश प्रदेश सरकार र बर्दिबास नगरपालिकाको संस्कृति तथा पर्यटन प्रवद्र्धन समितिले जिल्लाको पूर्वाधार विकासमा उच्च प्राथमिकता दिन थालेको छ । मधेसकै प्रसिद्ध धार्मिकस्थल बर्दिबास–४ माइस्थानस्थित पञ्चधुरामाई मन्दिर परिसर र बर्दिबासकै रातु नदी पश्चिमको जग्गामा प्रदेश सरकारसमेतको सहयोगमा रामजानकी ‘फनपार्क’ निर्माण हुने घोषणाले अहिले नगरवासी हौसिएका हुन् ।
“जिल्लाको समस्त चुरे पर्वत श्रेणी ओगटेको हाम्रो ठाउँमा प्राचीन धरोहर बेवारिसजस्तै छन्”, बर्दिबास–५ चेरुका भोगेन्द्रराज पौडेलले भन्नुभयो, “अहिले बर्दिबास नगरपालिका र प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका क्षेत्रमा पूर्वाधार विकासका काम अघि बढाइने घोषणा गरेपछि अब केही हुन्छ कि भन्ने आश जागेको छ ।”
नगरपालिकाले प्रसिद्ध धार्मिकस्थल पञ्चधुरामाई मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने घोषणासाथ काम अघि बढाएको छ । मन्दिर परिसरको तलाउको स्तरोन्नति तथा मन्दिर परिसरको सौन्दर्य वृद्धिका लागि निर्माणको आइतबार शिलान्यास समेत भएको छ ।
नगरपालिकाले मन्दिर परिसरको तलाउ व्यवस्थित गर्नेदेखि मनोरम वाटिका निर्माण गर्ने नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बताउनुभयो । “हामी अति प्राचीन पञ्चधुरामाई मन्दिर परिसरलाई सिङ्गो मधेस प्रदेशले नै गर्व गर्न सक्ने गरी काम अघि बढाउँछौँ”, उनले भने , “यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित बनाउन मन्दिरको आठ कठ्ठा क्षेत्रफलमा सुन्दर वाटिका निर्माण गरिने छ ।” नगरप्रमुख क्षेत्रीसँगै नगरको संस्कृति तथा पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष हीरालाल गौतमले अब पर्यटन प्रवद्र्धनका क्षेत्रमा योजनाबद्ध काम थालिने उल्लेख गरे ।
नगरमा संस्कृतिको जगेर्ना र पर्यटकीय सम्भावनाको विकास गर्न नै नगरपालिकाले नगर क्षेत्रका संस्कृतिविद्, पर्यटन व्यवसायी र स्थानीय उद्यमीलाई सम्मिलित गरेर संस्कृति तथा पर्यटन प्रवद्र्धन समिति गठन गरेको नगरप्रमुख क्षेत्रीको भनाइ छ ।
“अहिले रु ९० लाख विनियोजित छ, यसबाट तलाउ व्यवस्थापनमा रु ४० र वाटिका निर्माणमा रु ५० लाख खर्च गरिने छ”, नगरप्रमुख क्षेत्री भन्नुहुन्छ, “रकमकै अभावमा पञ्चधुरामाई मन्दिर परिसरको सौन्दर्य वृद्धिको योजना अलपत्र पर्न दिँदैनौँ ।” यसका लागि प्रदेश र सङ्घीय सरकारसँग आवश्यक थप सहयोग जुटाउन प्राथमिकता दिइएको समितिका अध्यक्ष गौतम बताउँछन् ।
पूर्वपश्चिम राजमार्गबाट उत्तरतर्फ करिब दुई किलोमिटर वन क्षेत्र छिचोलेर पुगिने पञ्चधुरामाई मन्दिर वन र लताकुञ्जभित्र अत्यन्त मनोरम छ । मन्दिर परिसरकै तलाउमा एक दशक अघिसम्म जस्तोसुकै प्रचण्ड गर्मीमा पनि पानी सुक्दैनथ्यो र सदावहार कमल ढकमक्क फुलेको देखिन्थ्यो ।
तर पछिल्ला केही वर्षयता वन विनास र अन्य प्राकृतिक प्रकोप तथा व्यवस्थापकीय बेवास्ताले तलाउ हिउँदमै सुकेर खण्डहरझैँ बन्ने गरेको माइस्थान बस्तीका रामजी पौडेल बताउनुहुन्छ । आदिकालकै यो मन्दिर परिसरको सौन्दर्य वृद्धिको काम घोषणा गरिएअनुरुप बढे मधेसको मात्र नभएर छिमेकी मुलुक भारतका पर्यटकका लागि पनि प्रमुख गन्तव्य हुने बर्दिबासवासी बताउँछन् ।
पञ्चधुरा मन्दिर परिसरसँगै यसैपालि रातु पुलवारि पूर्वपश्चिम राजमार्गबाट दक्षिणतर्फ रामजानकी ‘फनपार्क’ निर्माण हुने नगरप्रमुख क्षेत्रीको भनाइ छ । नगरपालिकाले ३० बिघा जग्गा व्यवस्था गरेर बनाइने यो रामजानकी ‘फनपार्क’ का लागि मधेस प्रदेश सरकारले नगरलाई रु दुई करोड १५ लाख उपलब्ध गराइसकेको क्षेत्रीले जानकारी दिए ।
मिथिलापुत्रीमात्र नभएर राष्ट्रकै विभूति सीता ९जानकी० र हिन्दू परम्परामा मर्यादा पुरुषोेत्तम मानिने श्रीरामका नाममा निर्माण हुने यो पार्कका लागि थप सहयोग जुटिरहेको बर्दिबास नगरपालिकाले जनाएको छ । अहिले तत्काल सुरु गरिन लागेका यी दुवै योजना नगरको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण हुने नगरप्रमुख क्षेत्री बताउनुहुन्छ ।
पूर्वपश्चिम सरदर १८ र उत्तरदक्षिण ३० किलोमिटर दूरीभित्रको बर्दिबास नगर क्षेत्र महोत्तरीको चुरे पर्वत श्रेणी छुने एकमात्र स्थानीय तह हो । यहाँ पञ्चधुरामाई मन्दिरका अतिरिक्त आदिकालदेखिका धार्मिकस्थल टुटेश्वरनाथ र राईमण्डल धार्मिक क्षेत्र छन् । टुटेश्वरनाथ शिवलिङ्गको ख्याति मधेस र सीमावर्ती भारतका आठ–दश जिल्लामा छ । महाशिवरात्रि र साउने मेलामा यहाँ लाखौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् ।
त्यसैगरी आदिकालमा स्वर्गका राजा इन्द्रले तपस्या गरेर इन्द्रेश्वर महादेवको शिवलिङ्ग स्थापना गरेको मानिने राईमण्डल धार्मिक क्षेत्र छ । यी धार्मिकस्थलबाहेक कालापानीस्थित लक्ष्मीनारायण मन्दिर, कामेश्वर मन्दिर, बर्दिबास रङ्गशाला, कालापानी वनवाटिका, कारेभोगटे ‘पिकनिकस्पट’ (वनभोजस्थल) र गत वर्षमात्रै बनेको रातु नदी किनारको मित्रपार्क पर्यटकीय सम्भावनाका ठाउँ मानिन्छन् ।
यी ठाउँको विकासमा आवश्यक पूर्वाधार थप्दै लान सकिए बर्दिबास सुन्दर र रोजाइको पर्यटकीय गन्तव्यका रूपमा विकसित हुने बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्काले बताए ।
–––




