समाचार

मुख्य समाचार : पृथ्वीजयन्ती मनाइयो, सबै प्रदेशले पाए नेतृत्व, संघमा मन्त्रिपरिषद् विस्तारको तयारी शुरु

काठमाडौं । नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष सन् २०२२/०२३ मा पाँच दशमलव एक र २०२३/०२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ । विश्व बैंकले मङ्गलबार ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । 

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको बताएका छन् । बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले फौजदारी मुद्दाका आरोपी सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका हुन् ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफैंलाई सर्वेसर्वा ठान्ने केपी ओली प्रवृत्ति रहेको भन्दै त्यसको पछि नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । प्रतिनिधिसभा विघटन गर्न नहुने संविधानको व्यवस्थालाई अझै स्विकार नगर्ने ओलीले आफूलाई सुप्रिमो ठान्ने गरेको उल्लेख गर्दै उनले त्यस्तो नहुन प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका हुन ।

सत्ता गठबन्धनको बैठक भोलि बस्ने भएको छ । गठबन्धन दलहरुका बिचमा मन्त्रालयका भागबण्डा टुङ्गो लगाउने बैठक बस्ने तय भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार विश्वासको मत पाएपछि मन्त्रिपरिषद् विस्तारको तयारी भएको हो । त्यसकै तयारीअनुसार प्रधानमन्त्री दाहालले बुधबार बेलुका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोट पुगेर मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गरेका छन् ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कविता गोष्ठीको आयोजना गरेको छ । पार्टीले उनले निर्वाह गरेको भूमिका तथा योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले भृकुटीमण्डप परिसरमा कार्यक्रम आयोजना गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै दलको साझा प्रधानमन्त्रीका रुपमा आफूले पाएको विश्वासको मतले चुनौती र जिम्मेवारी दुवै थपिएको बताएका छन् । ११ औँ गोरखा महोत्सवको उद्घाटन गर्दै उनले साझा प्रधानमन्त्रीका रुपमा काम गर्ने ऐतिहासिक अवसर प्राप्त भएको बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबारको मूल गेटस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् । पृथ्वीजयन्तीको अवसरमा सिंहदरबार मूलगेट अगाडि पुगेर राष्ट्रपति भण्डारीले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेकी हुन् ।

केबलमार्फत इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या करिब एक करोड पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार असोजसम्म अप्टिकल फाइबर (केबल)मार्फत इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या ९९ लाख ८७ हजार रहेको छ ।

विराटनगर सुपर किङ्सलाई २४ रनले पराजित गर्दै लुम्बिनी अल स्टार्स नेपाल टी–२० लिग पहिलो संस्करणको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९ रनमा सीमित भयो ।

श्रीलङ्काका पूर्वराष्ट्रपति महिन्दा र गोटाबाया राजापाक्षलाई क्यानडा सरकारले आफ्नो मुलुकको भ्रमणमा प्रतिबन्ध लगाएको छ । गृहयुद्धका बेला मानवअधिकार हनन गरेको आरोपमा उनीहरूमाथि यात्रा प्रतिबन्ध लगाइएको हो । सन् २००९ मा महिन्दा राजापाक्ष टापु राष्ट्रको राष्ट्रप्रमुख र गोटाबायाले रक्षा मन्त्रालयको नेतृत्व गरेका बेला तमिल टाइगर्सको पृथकतावादी आन्दोलनलाई सैन्य कारबाहीका माध्यमबाट अन्त्य गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *