काठमाडौँ । कर्णाली प्रदेशमा प्रदेश सरकार गठन र सञ्चालनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चारे बुँदे सहमति भएको छ ।
बुधबार नेकपा एमाले र माओवादी केन्द्र कर्णाली प्रदेशको नेतृत्वबीच चार बुँदे सहमतिमा हस्ताक्षर गरेर सहमति भएको हो । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश इञ्चार्ज यामलाल कँडेल र माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा कर्णाली इञ्चार्ज कालीबहादुर मल्लको नेतृत्वमा बसेको बैठकले चार बुँदे सहमति गरेको हो ।
पार्टी केन्द्रले मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा गर्दा कर्णालीको मुख्यमन्त्री पाँचै वर्ष माओवादीलाई दिने निर्णय गरेको भएपनि प्रदेशमा भएको सहमतिअनुसार अब एमाले र माओवादीले आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने भएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ८ मन्त्रालय रहेको कर्णाली प्रदेशमा एक मन्त्रालय घटाएर ७ वटा बनाउने सहमति भएको छ । एमालेबाट तीन र माओवादीबाट तीनसहित ६ जना मन्त्री बनाउने बैठकमा निर्णय भएको छ ।
यस सहमतिसँगै बुधबारै माओवादी दलका नेता राजकुमार शर्माले मुख्यमन्त्रीमा नियुक्ति लिएका छन् ।




