समाचार

बाल साहित्य सम्मान चालिसेलाई समर्पण गरिने

काठमाडौं । शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा बालसाहित्य सम्मान, २०७९’ बालसाहित्यकार विजय चालिसेलाई प्रदान गर्ने भएको छ ।

बालबालिकाको उमेरअनुसारको मनोविज्ञानलाई सुहाउँदा खालका बालचित्रकथा, बाल जीवनी, बाल विज्ञान, बाल नाटक, बाल कथा, बाल विज्ञान–उपन्यासजस्ता फरक–फरक विधामा विभिन्न बाल साहित्यिक पुस्तक लेखी चालिसेले प्रकाशन गरएका छन् ।

साथै विश्वका प्रसिद्ध बाल कथालाई नेपाली भाषामा अनुवाद गरी नेपालीभाषी बाल पाठकसमक्ष त्यस्ता प्रकाशन प्रस्तुत गरेर उनले नेपाली बाल साहित्यिक क्षेत्रमा विशिष्ट योगदान गर्नुभएको हुनाले यो सम्मान समर्पण गर्ने निर्णय गरिएको प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले राससलाई जानकारी दिए ।

बालसाहित्यकार गोपाल पराजुलीले आफ्ना मातापिता विष्णुमाया–टीकाप्रसाद पराजुलीको स्मृति र सम्मानमा व्यवस्था गरिदिनुभएको अक्षयकोषको ब्याजबाट हरेक वर्ष यो सम्मान समर्पण गर्ने गरिएको उहाँले बताए ।

शैलेन्द्र साकारलाई सिर्जना सम्मान

यसैगरी प्रकाशनले ‘शब्दयात्रा सिर्जना सम्मान, २०७९’ कवि शैलेन्द्र साकारलाई समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनबाट २०७८ सालमा प्रकाशित १७ वटा कृतिमध्ये ‘अरू सात समुद्र’ कवितासङ्ग्रहका लागि यो सम्मान समर्पण गर्ने निर्णय गरिएको हो ।

विचारोत्तेजक कविताका कारण ख्याति आर्जन गर्नुभएका प्रसिद्ध कवि शैलेन्द्र साकारको विशिष्टता नै सधैँ नयाँ लागिरहने कविताहरू सिर्जना गर्नु र विद्रोही भएर पनि कला पक्षप्रति अत्यन्त सचेत रहनु हो । हरेक कविताले पाठकको मस्तिष्कमा वैचारिक तरङ्ग फैलाउनु र नवीन विचारको प्रादुर्भाव गराउनु उनको कवित्वशक्ति हो । ‘अरू सात समुद्र’ मा यस्तै खालका लामा–छोटा ८२ वटा कविता छन् । शब्दयात्रा प्रकाशनबाट अघिल्लो वर्ष प्रकाशित कृतिमध्ये पाठकवर्गले बढी मन पराएको कृतिका कृतिकारलाई पछिल्लो वर्ष सम्मान गर्ने गरिएको छ ।

कवि कल्याण लम्सालले व्यवस्था गरिदिनुभएको अक्षयकोषको ब्याजबाट हरेक वर्ष यो सम्मान समर्पण गरिने गरेको प्रकाशनले जनाएको छ । सम्मानित दुवै व्यक्तित्वलाई रु पाँच हजार राशिसहित रुद्राक्ष मालाले सम्मान गरिने पनि प्रकाशनले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *