पर्यटन

पर्यटकको पर्खाइमा हेलम्बु

काटमाडौं । कुनै बेला स्याउका लागि प्रसिद्धि कमाएको सिन्धुपाल्चोकको पर्यटकीयस्थल हेलम्बु यतिखेर आन्तरिक तथा बाह्य पर्यटकको पर्खाइमा छ । पछिल्ला वर्षमा कोरोना महामारीसँगै आन्तरिक तथा बाह्य पर्यटक क्रमशः घट्दै जाँदा सुन्दर रमणीय हेलम्बु पर्यटकको पर्खाइमा रहेको हो ।

काठमाडौँबाट सिन्धुपाल्चोकको मेलम्ची हुँदै साँखु नाङ्लेभारे ६८ किलोमिटर वा वैकल्पिक बाटो कोटेश्वर–बनेपा–जिरोकिलो–सिपाघाँट हुँदै एक सय नौ किलोमिटर बाटोमा यातायातको साधनको प्रयोग गरी किउलतिम्बुसम्म पुग्न सकिन्छ ।  

खासगरी स्थानीय स्रोत र साधनबाट बनाइएका आकर्षक होटल, पाहुनाघर, लाङटाङ राष्ट्रिय निकुञ्ज, मेलम्ची खोलाको छहरा, भौगोलिक विविधता, स्थानीय उत्पादनबाट बनेका परिकार, ह्योल्मो जातिको रीतिरिवाज, गुम्बा, घ्याङ, ग्रेटटेल, पाल्चोक मन्दिर नै आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउने प्रमुख माध्यम रहेको हेलम्बु गाउँपालिकाको अध्यक्ष निमाग्याल्जेन शेर्पा बताउछन्  ।

शेर्पाका अनुसार हेलम्बुको आकर्षक प्रवेशद्वारमा पर्ने तापखर्कस्थित निगालेमा १३ फिट अग्लो गुरु रेम्पोन्छेको आकर्षक मूर्ति र ग्रेटटेल निर्माण गरेपछि पर्यटक बढ्न थालेका छन् ।

कुनै बेला रसिलो र ज्यादै स्वादिलो अग्र्यानिक स्याउ पाउने हेलम्बुमा अहिले स्याउ पाइँदैन । हेलम्बुको सेर्माथान, छिमी, नाकोते, तार्केघ्याङका गाउँमा स्याउ फल्न छाडेको स्थानीय कर्मातोक्पे लामाले बताए  ।  स्याउ उत्पादन हुन छाडेपछि लामो समय आलु, मुला र करु खेतीमा सीमित भएका स्थानीयवासीले वैकल्पिक खेती भेट्टाएपछि उत्साहित भएका छन् । 

गाउँपालिकाले बर्सेनि अनुदानमा किवी, ओखर, नास्पातीलगायत बिरुवा वितरण गर्दै आइरहेको लामा बताउनुहुन्छ । पछिल्लो समय शेर्माथानका प्रायः सबै किसान किवी खेतीमा आकर्षित भएका छन् । पर्यटकका स्वागतका लागि आमा समूहद्वारा होमस्टेसमेत सञ्चालनमा रहेको दावाडोल्मा शेर्पा बताउछन् । दावाडोल्माका अनुसार शेर्माथानका २२ घरमा होमस्टे सञ्चालन गरिएको छ ।

धार्मिक पर्यटनले प्रख्यात हेलम्बुमा पछिल्लो समय पर्यटकको चाप क्रमशः घट्दै गएको स्थानीयवासी बताउँछन् । हेलम्बु घुम्न ट्राभल एजेन्सीहरूले एक सातासम्मको टुर प्याकेजमा बाह्य पर्यटकहरू भित्रिने क्रम भने पछिल्ला दिनमा कमी आएको रोशनी लामाले बताए  । हेलम्बुको प्रचारप्रसार, यहाँका स्रोत र साधनहरूलाई व्यवस्थापन र परिचालन गर्न सके कमी हुँदै आएको आन्तरिक तथा बाह्य पर्यटकको लावालस्कर लाग्ने पर्यटन व्यवसायी मिलन तामाङको भनाइ छ । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *