शिक्षा / स्वास्थ्य

स्वास्थ्य सेवाका कर्मचारी फिर्ता नगर : मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थानीय तहलाई स्वास्थ्यका कर्मचारीलाई फिर्ता नपठाउन निर्देशन दिएको छ ।

मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीलाई फिर्ता नपठाउन सबै सात सय ५३ वटै स्थानीय तहलाई निर्देशन गरेको छ । मन्त्रालयको कर्मचारी प्रशासन शाखाका उपसचिव मोहन निरौलाले स्वीकृत दरबन्दीभन्दा बढी हुन गएका कर्मचारीको अपुग तलब भत्ता अहिलेलाई मन्त्रालयबाट वित्तीय हस्तान्तरणमार्फत बजेट पठाइने भएकाले फिर्ता नपठाउन निर्देशन दिएको जानकारी दिए ।

विभिन्न प्रदेश र स्थानीय तहमा समायोजन भएर स्वीकृत दरबन्दीभन्दा बढी हुन गई तलब भत्ता अपुग हुन गई कर्मचारीलाई मन्त्रालयमा फिर्ता पठाइएका थिए । उनले स्वीकृत दरबन्दीभन्दा बढी हुन गएका कर्मचारीलाई मन्त्रालयले बजेट पठाउने भएकाले हाजिर गराई कामकाजमा खटाउन निर्देशन दिएको बताए ।

“विभिन्न प्रदेश र स्थानीय तहमा समायोजन मिलान हुँदा स्वीकृत दरबन्दीभन्दा बढी हुन गई तलब भत्ता अपुग हुन गएका कारण कर्मचारी फिर्ता पठाएको विवरण विभिन्न स्थानीय तहबाट प्राप्त भएको छ”, उनले भने , “समायोजन मिलान हुँदा स्वीकृत दरबन्दीभन्दा बढी हुन गएका कर्मचारीको नपुग तलब भत्ता हाललाई मन्त्रालयबाट वित्तीय हस्तान्तरणमार्फत बजेट पठाइने छ ।”

मुलुक सङ्घीय संरचनामा गइसकेपछि सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरेको थियो । गत मङ्सिर १८ गते धनुषा जिल्लाको मिथिला विहारी नगरपालिकाले ११ जना स्वास्थ्य सेवाका कर्मचारीलाई मन्त्रालयमा फिर्ता पठाएको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदशरथ यादवले स्वीकृत दरबन्दीभन्दा बढी रहेका कर्मचारीको तलब भत्ता मन्त्रालयबाट नआएको ११ जना कर्मचारी फिर्ता पठाइएको जानकारी दिए । नगरपालिकाले कर्मचारीलाई फिर्ता पठाएपछि आफ्नो पुनःस्थापनाको माग गर्दै ती ११ जना कर्मचारीले मन्त्रालयमा धर्ना दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *