काठमाडौँ । उत्तर कोरियाले आफ्नो पूर्वी तटमा फेरि ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । यो वर्ष उत्तर कोरियाले ब्यालेस्टिक मिसाइलको नवौं परीक्षण गरेको हो । गत महिना उत्तर कोरियाले २० भन्दा बढी छोटो दुरीका क्षेप्यास्त्र प्रहार गरेको थियो । यस वर्ष उनीहरूबाट दर्जनौं मिसाइल परीक्षणहरू भएका छन् ।
दक्षिण कोरिया र जापानका अधिकारीहरूले उत्तर कोरियाले आइतबार आफ्नो पूर्वी तटबाट ब्यालेस्टिक मिसाइल प्रहार गरेको बताएका छन् । दक्षिण कोरियाका सेना प्रमुखले आइतबार बिहान क्षेप्यास्त्र परीक्षण गरेको बताएका छन् । जापानको प्रधानमन्त्री कार्यालयले पनि मिसाइल प्रक्षेपणको पुष्टि गरेको छ ।
जापानले उत्तर कोरियाको एउटा संदिग्ध क्षेप्यास्त्र जापान र कोरियाली प्रायद्वीप बीचको समुद्रमा खसेको जनाएको छ । यद्यपी उक्त क्षेप्यास्त्र जापानको तटबाट कति टाढा थियो भन्ने बारे भने खुलाइएको छैन । जापानी मिडियाले सरकारी स्रोतलाई उद्धृत गर्दै उक्त क्षेप्यास्त्र जापानको विशेष आर्थिक क्षेत्र बाहिर समुद्रमा खसेको बताएको छ।
उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो
यसअघि नोभेम्बर १८ मा उत्तर कोरियाले इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो। अमेरिका र जापानले यसलाई क्षेत्रीय स्थायित्वका लागि खतरा भनेका छन् र उत्तर कोरियाको अवैध हतियार विकास कार्यक्रम र ब्यालिस्टिक मिसाइल परीक्षण रोक्न जोड दिएका छन्। उही समयमा, उत्तर कोरियाले अमेरिका र उसका सहयोगीहरूको उक्साहटको जवाफमा मिसाइल परीक्षण गरिरहेको बताएको छ।




