काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्वसभामुख रामचन्द्र पौडेललाई जापान सरकारले अर्डर अफ द राइजिङ सनु पदक प्रदान गरेको छ ।
वरिष्ठ नेता पौडेललाई नेपालका लागि जापानका राजदूत किकुता युताकाले आज बिहीबार उनकै निवासमा अर्डर अफ द राइजिङ सनु पदक प्रदान गरिएको हो । सन् २०२० अप्रिल २९ गते घोषणा भएको यो सम्मान कोभिडलगायतका कारण आज प्रदान गरिएको हो ।
जापानी सम्राट मेइजिले सुरु गरेको राजकीय सम्मान अर्डर अफ द राइजिङ सनु आज दिउँसो ३ बजे वरिष्ठ नेता पौडेललाई प्रदान गरिएको छ ।
वरिष्ठ नेता पौडेललाई विशेषतः पूर्व सभामुखको हैसियतमा दुई देशबीचका सांसदबीचको सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल–जापान सम्बन्ध सुदृढमा गर्नुभएको योगदानका लागि कदर गरिएको हो ।
वरिष्ठ नेता पौडेलले आफू सभामुख रहँदा सन् १९९९ मा नेपाल–जापान मैत्री संसदीय लिग स्थापना गर्नुका साथै त्यसको पहिलो अध्यक्षसमेत रहेका थिए ।




