समाचार

परम्पराको निरन्तरताबाट ज्ञान प्राप्त गरी समृद्धि हासिल गर्नुपर्छ: मन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आदिवासी जनजातिकोे सभ्यता, संस्कृति र परम्पराको निरन्तरताबाट ज्ञान प्राप्त गरी समृद्धि हासिल गर्नुपर्ने बताएका छन । आदिवासी जनजाति आयोगले ललितपुरमा आज आयोजना गरेको आदिवासी जनजाति ज्ञान सम्मेलनमा उनले खोज, अनुसन्धान, सङ्घर्ष र निरन्तरताबाट सभ्यता र संस्कृतिको जगेर्ना गर्दै सीप, सिर्जनालाई ज्ञान क्षेत्रमा जोडेर समृद्धि हासिल गर्न लाग्नुपर्ने बताए ।

“सभ्यता, संस्कृति र परम्पराको निरन्तरताबाट ज्ञान प्राप्त हुन्छ । सभ्यतासँग संस्कृति जोडिएको हुन्छ । सभ्यता र संस्कृति नै रहेन भने अस्तित्व रहँदैन”, मन्त्री पौडेलले भने , “समाजमा विभिन्न किसिमका विशेषता हुन्छन्, त्यसलाई हामीले ज्ञान क्षेत्रमा जोड्न सकेनौँ भने सभ्यता र संस्कृतिको संरक्षण र विकास पनि हुन सक्दैन र हामी पनि अगाडि बढ्न सक्दैनौँ । विश्वविद्यालयहरूमा यो बहस आवश्यक छ ।”

थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आदिवासी जनजातिको ज्ञानको संरक्षण र संवद्र्धन गर्दै विविधतालाई सम्पत्तिको रूपमा स्वीकार गर्नुपर्ने बताए । “नेपालको विविधतालाई हाम्रो सम्पत्तिको रूपमा स्वीकार गरेर जानुपर्छ, यसलाई अहिले गम्भीरतापूर्वक लिइएको छैन ।” अध्यक्ष चौधरीले भने , “आदिवासी जनजातिका ज्ञान भाषा, संस्कृतिसँग जोडिएका विषय छन्, अहिले भाषा संरक्षण नै चुनौतीपूर्ण अवस्थामा छन् । हामीले भाषिक विकास र संरक्षणका लागि पाठ्यक्रममा भाषालाई समेट्नुपर्ने आवश्यकता छ ।”

राष्ट्रियसभाका सदस्य सुरेश आलेमगरले संवैधानिक अङ्गका रूपमा रहेको आदिवासी जनजाति आयोग आदिवासी जनजाति आन्दोलनको सफलता भएको बताउँदै यसले आफ्ना गतिविधिलाई राज्यको नीति र अभ्यासअनुसार आदिवासी जनजातिको संस्कृति, सभ्यता र ऐतिहासिक परम्पराको संरक्षण, प्रवद्र्धन र व्यापकतामा ध्यान दिने अपेक्षा गरे ।

संविधानसभा सदस्य तथा गण्डकी प्रदेश विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले आदिवासी जनजाति आयोगले आदिवासी जनजाति आन्दोलनको मर्मअनुरुप उपलब्ध स्रोत र साधनको सदुपयोग गर्दै उनीहरूको पीडालाई बुझ्ने गरी काम गर्न सुझाए ।

संविधानसभा सदस्य तथा आदिवासी जनजाति प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तीले आदिवासी जनजातिको ज्ञान, सीप र आर्थिक विकास गर्ने सन्दर्भमा सम्मेलनभित्र महत्वपूर्ण छलफल हुने विश्वास व्यक्त गर्नुभयो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटाले ज्ञानहरूको पहिचानलाई संरक्षण गर्दै जान, अन्तरनिहित ज्ञान र सीपलाई पहिचान गर्दै सुन्दर फूलबारीलाई संरक्षण गर्दै जानु सबैको दायित्व भएको बताए ।

खुला विश्वविद्यालयका उपकुलपति शीलु मानन्धर बज्राचार्यले आदिवासी जनजातिका भाषा, साहित्यको ज्ञानलाई प्राथमिकतामा राखेर संरक्षण गर्न औपचारिक शिक्षामा समावेश गर्नुपर्ने र यसका लागि नीति– निर्माण तहमा काम गर्नेहरूले ध्यान दिनुपर्ने बताए । रोजगारी सिर्जना गर्न सक्ने खालको सिर्जनात्मक शिक्षा दिन पाठ्यक्रम तयार गर्नु आजको आवश्यकता रहेको पनि उहाँले औँल्याए ।

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिवासीहरूको ज्ञान, सीप, भाषा, कला, संस्कृतिको विकास गर्दै राज्यको मूलधारमा ल्याएर अथाह सम्भावनाको खोजी तथा सदुपयोग गर्नुपर्ने बताए । उनले ९० प्रतिशत खाद्य परिकार आदिवासी ज्ञानमा आधारित रहेको पनि बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *