काठमाडौँ । म्यानचेस्टर युनाइटेले क्रिस्टियानो रोनाल्डोलाई बर्खास्त गर्ने तयारी गरेको छ । डेली मेलका अनुसार म्यानचेस्टर युनाइटेडले रोनाल्डोको अन्तर्वार्तापछि उत्पन्न परिस्थितिको समीक्षा गरिरहेको र उनलाई क्लबबाट बर्खास्त गर्ने तयारी गरेको उल्लेख गरिएको छ ।
म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले पनि सोमबार नै युनाइटेडको व्यवस्थापनसँग छलफल गर्दै रोनाल्डो अब युनाइटेडका लागि नखेल्ने स्पष्ट गरेको दाबि गरिएको छ ।
अहिले युनाइटेड व्यवस्थापनले रोनाल्डोले क्लबसँगको सम्झौता उल्लङ्घन गरेको विषयमा छलफल गरिरहेको बताइएको छ । मिडिया रिपोर्टमा रोनाल्डोको पुरा अन्तर्वार्ता बुधबार र विहिबार मात्र सार्बजनिक हुने हुनाले त्यसपछि मात्र युनाइटेडले निर्णय लिने उल्लेख छ । यस अघि युनाइटेडले सोमबार एक विज्ञप्ति जारी गर्दै रोनाल्डोले क्लबमाथि लगाएका आरोप बारे पुरै सुनेपछि प्रतिक्रिया दिने बताएको थियो ।
त्यस्तै युनाइटेडमा रोनाल्डोको प्रति साता पारिश्रमिकको सम्झौता खारेज गरेर फ्री-ट्रान्सफरमा अन्य क्लब जाने वातावारण बनाइदिने विषयमा समेत छलफल भइरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
यसैबीच रोनाल्डोले जनवरी ट्रान्सफरमा क्लब छोड्ने तयारी शुरु गरेको रिपोर्टहरु सार्बजनिक भएका छन् । मिडिया रिपोर्टका अनुसार रोनाल्डोलाई बायर्न म्युनिखले फेरी चासो देखाएको उल्लेख गरिएको छ । बायर्नका प्रतिनिधिले अघिल्लो साता रोनाल्डो र उनका एजेन्टसँग छलफल गरेको बताइएको छ । बायर्नले आफ्ना स्ट्राइकर साडियो माने घाइते भएपछि रोनाल्डोप्रति चासो देखाएको दाबी गरिएको छ । त्यस्तै प्रिमियर लिग क्लब चेल्सीले समेत किन्न सक्ने बताइएको छ ।




