काठमाडौँ । यूएईले एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाललाई २ सय ६४ रनको लक्ष्य दिएको छ । नेपालका कप्तान रोहित पौडेलले त्रिवि क्रिकेट मैदान कीर्तिपुर टस जितेपछि ब्याटिङमा आएको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ६३ रन बनाएको हो ।
मोहम्मद वासिम र वृत्य अर्विन्दले यूएईलाई शानदार सुरुआत दिलाएका थिए । यी दुई ओपनरले १५ ओभर भित्र ७५ रन जोडेका थिए । गुलशन झाले वासिमलाई बोल्ड गरी यो साझेदारी तोडेका थिए । सोही ओभरमा उनले कप्तान सीपी रिजवानलाई एलबीडब्लु आउट गरेपछि नेपालको आशा जगाएका थिए ।
वासिमले ४१ बल खेली ६ चौका र १ छक्का प्रहार गरी ४४ रन बनाए । २७ औं ओभरमा दीपेन्द्रसिंह ऐरीले अर्विन्दलाई आउट गरे । अर्विन्दले ८२ बल खेली ६ चौका प्रहार गर्दै ४० रन बनाए । टोलीमा पुनरागमन जनाएका रोहन मुस्ताफाले अर्धशतक बनाए । नेपालविरुद्ध प्राय राम्रो खेल्दै आएका उनले ७३ बल खेली ७ चौका प्रहार गरि ५३ रन बनाए ।
त्यसपछिका तीन विकेट नेपालले रनआउटमा लिएको थियो । अलिसान सराफुले २९ रन बनाए । ३९ बल खेल्दै २ चौका प्रहार गरेका उनलाई कप्तान रोहित पौडेल र आसिफले मिलेर आउट गरे । बसिल हमिदले १४ रन बनाए । आयन खान र अहमद राजाले सातौं विकेटमा ४८ रनको साझेदारी गरि यूएईलाई मजबुत स्थितिमा ल्याए । आयनले २८ बल खेली १ चौका र १ छक्का प्रहार गरि २६ रन बनाए ।
गुलशनले ६ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले १ विकेट लिने क्रममा १० ओभरमा ६७ रन खर्चे । दीपेन्द्रले ८ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । ललित राजवंशीले कुनै विकेट लिन सकेनन् । यद्यपि उनले १० ओभरमा १ मेडन राख्दै ३६ रनमात्र खर्चे ।
नेपालले अर्जुन साउद र हरिशंकर शाहलाई डेब्यु गर्न दिएको छ । नेपालले सेप्टेम्बरमा केन्या भ्रमण गर्दा अर्जुनले ३ एकदिवसीय खेल खेले पनि एकदिवसीय अन्तर्राष्ट्रिय पहिलो पटक खेल्न लागेका हुन् । हरिशंकरले राष्ट्रिय टोलीबाट कुनै पनि संरचनामा पहिला खेल खेल्न लागेका हुन् ।
रोहितको नेपालका कप्तानको रुपमा एकदिवसीय अन्तर्राष्ट्रियमा यो पहिलो खेल हो । नेपाल क्रिकेट संघले चार दिनअघि उनलाई कप्तान बनाउने निर्णय गरेको थियो । रिजवानले यूएईको एकदिवसीय अन्तर्राष्ट्रिय कप्तानको रुपमा पहिलो खेल खेलिरहेका छन् ।
रिजवानकै कप्तानीमा यूएईले हालै अस्ट्रेलियामा ट्वान्टी २० विश्वकप खेलेको थियो । डिसेम्बर १ देखि १० सम्म नामिबियामा हुने नामिबिया र स्कटल्यान्डसम्मिलित विश्वकप लिग २ का लागि नेपालले यो खेल तयारीको रुपमा हेरेको छ ।




