काठमाडौँ । टी-२० विश्वकप अन्तर्गत आज फाइनल खेल हुदै छ । फाइनल खेलमा पाकिस्तान र ईङल्याण्ड प्रतिष्पर्धा गर्दैछन् । फाइनल खेल नेपाली समय अनुसार दिउसो १:४५ बजे देखि शुरु हुने छ ।
पाकिस्तानले सेमिफाइनलमा न्यूजील्याण्डलाई पराजति गर्दै फाइनल पुगेको हो भने ईङल्याण्डले भारतलाई पराजित गर्दै फाइनलसम्मको यात्रा तय गरेको हो ।
ईङल्याण्डले अहिलेसम्म एक पटक टी-२० विश्वकपको उपाधि जितेको छ । ईङल्याण्डले २०१० मा वेस्टइण्डिजमा आयोजित टी-२० विश्वकपको उपाधि जितेको थियो । त्यस्तै २०१६ मा भारतमा आयोजित विश्वकप फाइनलमा वेस्टइण्डिजसँग पराजित हुदै उपविजेता बनेको थियो ।
त्यसैगरी पाकिस्तानले पनि अहिलेसम्म एक पटक टी-२० विश्वकपको उपाधि जितेको छ । २००९ मा ईङल्याण्डमा आयोजित विश्वकपमा श्रीलंकालाई पराजित गर्दै पाकिस्तानले विश्वकप जितेको थियो । त्यसअघि २००७ को विश्वकपमा पाकिस्तान फाइनलमा भारतसँग पराजित भएको थियो । २००९ पछि पाकिस्तान पहिलो पटक विश्वकपको फाइनलमा पुगेको छ ।
वर्षा हुनसक्ने अनुमान
फाइनल खेललाई मौसमले साथ नदिने अनुमान गरिएको छ । मेलवर्न क्रिकेट मैदानमा हुने यस फाइनल खेलको समयमा वर्षाको सम्भावना रहेको छ । अस्ट्रेलियाको मौसम अनुमान विभागले आइतबार वर्षा हुने अनुमान गरेको छ । आइतबार खेल हुन नसकेमा सोमबारका लागि रिजर्भ डे राखिएको छ ।
फाइनल खेलमा बर्षाले प्रभावित भएमा डक वर्थ लुइस नियम लागु गर्न कम्तिमा १०-१० ओभरको खेल हुनुपर्ने नियम लागु गरिएको छ । आइतबार खेल शुरु भएर प्रभावित भएमा बाँकि खेल सोमबार गराउन सकिने छ । रिजर्भ डे मा पनि खेल पुरा हुन नसक्ने अवस्था भएमा दुवै टिमलाई संयुक्त विजेता घोषणा गरिने व्यवस्था आइसीसीले गरेको छ । यस विश्वकपमा कुल ७ खेल बर्षका कारण हुन सकेका थिएनन् । जसको कारण सुपर १२ र सेमिफाइनलको समीकरण समेत प्रभावित भएको थियो ।




