काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल लिड्स युनाइटेडसँग स्तब्ध भएको छ ।
गएराती सम्पन्न खेलमा लिड्स युनाइटेडले लिभरपुललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
लिड्सको जितमा क्राइसेन्सियो समरभिलेले खेलको ८९औँ मिनेटमा निर्णायक गोल गरेका थिए ।
यस अघि लिड्सका लागि खेलको चौथो मिनेटमा नै रोड्रीगो मोरेनोले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि मोहमद सलाहले खेलको १४औँ मिनेटमा गोल फर्काउदै खेल बराबरी गरेका थिए ।
यो जितपछि लिड्स युनाइटेडको १२ खेलमा १२ अंक भएको छ र लिगमा १५औँ स्थानमा उक्लिएको छ ।
त्यस्तै लिभरपुलले भने यस सिजनमा चौथो हार बेहोरेको छ । १२ खेलमा १६ अंक हासिल गरेको लिभरपुल यस सिजनमा संकटमा देखिएको छ । हाल लिभरपुल लिगमा नवौं स्थानमा झरेको छ ।




