सिड्नी । ‘प्लयेर अफ द म्याच’ ग्लेन फिलिप्सको उत्कृष्ट शतकको मद्दतले न्युजिल्यान्डले शनिबार ट्वान्टी ट्वान्टी विश्वकप सुपर–१२ को ग्रुप–१ मा श्रीलंकामाथि प्रभावशाली ६५ रनको जित निकालेको छ । न्युजिल्यान्डले सात विकेटमा १ सय ६७ रन बनाएयता त्यसको जवाफमा श्रीलंकाले सबै विकेट गुमाएर १ सय २ रनमात्र बनाउन सक्यो ।
श्रीलंकाको सुरुआत निकै कमजोर रह्यो र उसले आठ रन बनाउँदा चार विकेट गुमाइसकेको थियो । उसका लागि भानुका राजपाक्षेले ३४ र दुसान सनकाले ३५ रन बनाए । यो जितपछि न्युजिल्यान्ड ग्रुप–१ मा तीन खेलबाट पाँच अंकसहित शीर्ष स्थानमा छ र उसको सेमिफाइनल प्रवेशको सम्भावना बलियो भएको छ । श्रीलंका भने तीन खेलबाट दुई अंकमै सीमित रह्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डको सुरुआत पनि राम्रो रहेन र उसले १५ रनमा तीन विकेट गुमाइसकेको थियो । तर चौंथो क्रममा रहेका फिलिप्सले न्युजिल्यान्डको इनिङ्स सम्हाले र ६४ बलमा १ सय ४ रन बनाए । उनले १० चौका र चार छक्का प्रहार गरे । फिलिप्सले २२ रन बनाएका ड्यारले मिचेलसँग चौथो विकेटका लागि ८४ को साझेदारी गरे ।




