काठमाडौँ । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले टोटनह्यामविरुद्धको खेलमा क्रिस्टियानो रोनाल्डो सब्सटिच्यूटको रुपमा मैदानमा जान अस्वीकार गरेको बताएका छन् ।
विहिबार पत्रकार सम्मेलनमा प्रशिक्षक ह्यागले रोनाल्डो युनाइटेडको महत्वपूर्ण खेलाडी भएपनि खेलाडीहरुको व्यवहार र संस्कार महत्वपूर्ण भएको बताएका छन् ।
ह्यागले भनेका छन्- ‘क्लबको संस्कारका लागि म जिम्मेबार छु । मैले क्लबमा एउटा स्ट्यान्डर्ड र भ्यालु सेट गर्नुपर्छ । फुटबल एउटा टिम खेल हो । हरेक खेलाडीले एउटा स्ट्यान्डर्ड सेट गर्नै पर्छ ।’
टोटनह्यामविरुद्धको खेलमा सब्सटिच्युटको रुपमा मैदानमा जान अस्वीकार गरेका रोनाल्डो खेल सकिनु २ मिनेट अघिनै मैदानबाट बाहिरिएका थिए । उनको यस्तो व्यबहारको आलोचना समेत भएको छ । उनको यसै व्यबहारका कारण म्यानचेस्टर युनाइटेडले उनलाई आगामी शनिबार हुने चेल्सीविरुद्धको खेलमा टिममा समावेश गरेको छैन ।
रोनाल्डोले गएराती सामाजिक संजालमा आफ्नो पक्ष राख्दै ‘हिट अफ द मोमेन्ट’ मा आफुले त्यस्तो गरेको स्पष्ट गर्दै आफु सधै क्लबप्रति इमान्दार रहेको उल्लेख गरका छन् ।




