खेलकुद

टी-२० विश्वकपमा उलटफेर: दुई पटकको विजेता वेस्टइन्डिज बाहिरियो

काठमाडौँ । टी-२० विश्वकप २०२२ मा शुक्रबार सबैभन्दा ठूलो उलटफेर भयो । दुई पटकको विश्व च्याम्पियन वेस्ट इन्डिज छनोट चरणमा नै प्रतियोगिताबाट बाहिरिएको छ । आयरल्याण्डले विश्व च्याम्पियन टिमलाई ९ विकेटले पराजित गरेको छ ।

विश्वविजेता टोली विश्वकपको मुख्य चरणमा पुग्न नसकेको यो पहिलो पटक हो । वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा टी–२० विश्वकपको उपाधि जितेको थियो । आईसीसी वरियतामा आयरल्याण्ड १२औं स्थानमा छ भने वेस्ट इन्डिज सातौं स्थानमा छ । यो खेलमा वेस्ट इन्डिजलाई न त ब्याट्सम्यानको साथ मिलेको थियो न भाग्यले साथ पाएको थियो ।

खेल हार्ने प्रमुख कारण

आयरिश स्पिनरहरू

यस खेलमा आयरल्यान्डका स्पिनरहरूले प्रभावशाली प्रदर्शन गरे । उनीहरूले वेस्ट इन्डिजलाई एक–एक झटका दिइरहेका थिए र वेस्ट इन्डिजको टोली ठूलो स्कोर बनाउन सकेन । स्पिनरले ५ मध्ये ४ विकेट लिए । मध्यम गतिका बलर म्याकार्थीले एक विकेट लिए । वेस्ट इन्डिजको टोलीले प्रतियोगिताभर स्पिनरलाई राम्रोसँग खेल्न सकेन ।

आयरिश ब्याटिङ

बलरको उत्कृष्ट प्रदर्शनपछि आयरिश ओपनरले उत्कृष्ट सुरुवात गरेका थिए । ११ ओभरमा १०० रनको आँकडा पार गर्दै वेस्टइण्डिजमाथि दबाब बढाएका थिए । कप्तान बालबर्नीले ३७ रनको पारी खेले । पल स्टर्लिङसँग ७३ रनको ओपनिङ साझेदारी भयो । स्टर्लिङले अविजित ५६ र टकरले अविजित ४७ रन बनाए ।

वेस्टइन्डिज शीर्ष क्रम असफल

वेस्ट इन्डिजको शीर्ष क्रम असफल भयो । मध्यक्रममा ब्रान्डन किङ (६२) ले इनिङ्स सम्हालेपनि अन्य ब्याट्सम्यानले साथ दिन सकेनन् ।

११औं ओभरको चौथो बलमा लोर्कन टकर ओडियन स्मिथको बललाई पुल अफ गर्ने प्रयासमा समातिए । त्यसपछि तेस्रो अम्पायरले नो बल दिए र टकर फेरि ब्याटिङमा फर्किए । आयरल्यान्ड दुई जितपछि ४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ र सुपर १२ मा छनोट भएको छ । वेस्ट इन्डिज भने प्रतियोगिताबाट बाहिरिएको छ । २०१६ को च्याम्पियन २ अंकसहित पुछारमा छ ।

आयरल्याण्डले १३औं पटक टेस्ट खेल्ने राष्ट्रलाई हरायो

आयरल्याण्डको टोलीले टी–२० क्रिकेटमा १३ औं पटक टेष्ट खेल्ने टोलीलाई पराजित गरेको छ । उसले जिम्बावेलाई ५ खेलमा, अफगानिस्तानलाई ४ खेलमा र बंगलादेशलाई १ खेलमा पराजित गरेको थियो । वेस्ट इन्डिजविरुद्ध आयरल्याण्डको यो तेस्रो जित हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *