खेलकुद

चेतावनी दिदै पाकिस्तानले भन्यो- भारतमा हुने आइसीसीका प्रतियोगिता बहिष्कार गर्न सक्छौं !

काठमाडौँ । पाकिस्तानले २०२३ को एशिया कप खेल्न भारत आफ्नो देशमा नआएमा भारतमा हुने कुनै पनि प्रतियोगितामा पाकिस्तानले भाग नलिन सक्ने चेतावनी दिएको छ ।

एशियन क्रिकेट काउन्सिलका अध्यक्ष तथा भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाहले २०२३ मा हुने एशिया कप खेल्न भारत पाकिस्तान नजाने बताएको अर्को दिन पाकिस्तान क्रिकेट कन्ट्रोल बोर्डले एक विज्ञप्ति जारी गर्दै अध्यक्ष शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

पाकिस्तान बोर्डले अध्यक्ष शाहले कुनै छलफल नै नगरी एकतर्फी रुपमा बयान दिएको भन्दै यस्तो बयानले आइसीसी र एसीसीलाई फुटाउने टिप्पणी गरेको छ ।

साथै पाकिस्तानले भारत एशिया कप खेल्न पाकिस्तान नआएमा पाकिस्तानले २०२३ को आइसीसी विश्वकप र २०३१ सम्मका आइसीसीका भारतमा हुने प्रतियोगितामा आफ्नो उपस्थितिका विषयमा असर हुनसक्ने चेतावनी दिएको छ ।

साथै पाकिस्तानी बोर्डले एशियन क्रिकेट काउन्सिलको बोर्ड बैठक बस्न माग गर्दै यस विषयलाई तुरन्त समाधान गर्न आग्रह गरेको छ ।

विश्व क्रिकेटका दुई ठुला प्रतिद्वन्दी मानिने भारत र पाकिस्तान एसीसी र आइसीसीका प्रतियोगिता बाहेक दुई देशबिचका क्रिकेट प्रतियोगितामा २०१२ देखि खेलेका छैनन् । भारतीय क्रिकेट टिमले अन्तिम पटक २००६ मा पाकिस्तानको भ्रमण गरेको थियो । दुई देश बिचको राजनीतिक सम्बन्ध खराब भएपछि यसको असर क्रिकेटमा प्रत्यक्ष रुपमा देखिदै आएको छ ।

न्युट्रल भेन्यूमा भने पछिल्लो पटक भारत र पाकिस्तान एशिया कपमा अघिल्लो महिना खेलेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *