खेलकुद

रोजर बिन्नी बने बिसीसीआईको नयाँ अध्यक्ष

काठमाडौँ । पुर्व क्रिकेटर रोजर बिन्नी भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) ले नयाँ अध्यक्ष बनेका छन् । मंगलबार मुम्बईमा भएको वार्षिक साधारण सभाले बिन्नीलाई बीसीसीआईको नयाँ अध्यक्ष अनुमोदन गरेको हो ।

बैठकमा बीसीसीआईका निवर्तमान अध्यक्ष सौरभ गांगुली, सचिव जय शाह, उपाध्यक्ष राजीव शुक्ला, कोषाध्यक्ष अरुण सिंह धुमाल र पूर्व दिग्गज क्रिकेटर तथा नयाँ अध्यक्ष रोजर बिन्नी स्वयं उपस्थित थिए ।

बिन्नी बीसीसीआईका ३६औं अध्यक्ष बनेका छन् । यस बैठकमा बीसीसीआईको आगामी अध्यक्ष र आईसीसी अध्यक्षको पदलगायत धेरै विषयमा छलफल भएको थियो । बीसीसीआई पदाधिकारी चयनलाई औपचारिकता मात्र मानिएको थियो । १९८३ को विश्वकप विजेता टोलीका सदस्य रोजर बिन्नीको प्रतिद्वन्दी कोहि नभएपछि उनी सर्बसम्मत अध्यक्ष बनेका हुन् ।

त्यस्तै बिसिसीआइको उपाध्यक्षमा राजीव शुक्ला, सचिवमा जय शाह, कोषाध्यक्षमा आशिष शेलार, सहसचिवमा देवजित सैकिया र आईपीएलको अध्यक्षमा अरुण धुमाल चयन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

रोजर बिन्नी हाल कर्नाटक राज्य क्रिकेट संघको अध्यक्ष थिए र अब उनले यो पदबाट राजीनामा दिनेछन् । उनी सन् १९८३ मा विश्वकप जित्ने भारतीय टोलीका महत्वपूर्ण सदस्य थिए । बिन्नीले विश्वकपमा सबैभन्दा धेरै (१८) विकेट लिएका थिए । उनले भारतीय टोलीको चयनकर्ताको रुपमा समेत काम गरिसकेका छन् । सन्दीप पाटिल छनोट समितिको अध्यक्ष हुँदा उनी त्यो टोलीमा थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *