काठमाडौँ । टी-२० विश्वकपमा नामिबियाले शानदार शुरुवात गरेको छ । आइतबार शुरु भएको टी-२० विश्वकपको पहिलो चरणको खेल अन्तर्गत नामिबियाले श्रीलंकालाई ५५ रनले पराजित गरेको हो ।
नामिबियाले दिएको १६४ रनको लक्ष्य पछाएको श्रीलंका १९ ओभरमा अलआउट हुदै १०८ रन मात्र बनाएपछि खेल ५५ रनले हारेको हो ।
श्रीलंकाका लागि कप्तान दसुन शानकाले सर्बाधिक २९, भानुका राजपाक्षेले २०, धनन्जय दि सिल्भाले १२ र महीष थीक्शानाले ११ रन बनाएका थिए । श्रीलंकाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नामिबियाले २० ओभरमा ७ विकेट गुमाउदै १६३ रन बनाएको थियो ।
यो जितपछि नामिबियाले समू ए मा महत्वपूर्ण २ अंक हासिल गरेको छ । टी-२० विश्वकप अन्तर्गत आजै युएई र नेदरल्याण्डसबीच खेल हुदै छ ।
अष्ट्रेलियामा आज अर्थात अक्टोबर १६ बाट टी–२० विश्वकप सुरु भएको छ । २९ दिने यस प्रतियोगितामा ४५ वटा खेल हुने छन् ।
पहिलो राउण्डमा कुल आठ टोलीले कुल १२ खेल खेल्नेछन् । यो राउण्डमा दुई पटक टी–२० विश्वकप जितेको वेस्ट इन्डिज र एसियाली च्याम्पियन श्रीलंका पनि रहेको छ । श्रीलंकाले सन् २०१४ मा उपाधि जितेको थियो । दुवै टोली सुपर–१२ मा छनोट हुन सकेनन् । त्यसैले पहिलो राउण्ड खेलिरहेका छन् ।
यस राउण्डमा श्रीलंका र वेस्टइन्डिजका अलावा आयरल्याण्ड, स्कटल्याण्ड, जिम्बाब्वे, नेदरल्यान्ड्स, नामिबिया र युएईका टिमले भाग लिनेछन् ।
यी मध्ये समुह ए मा नामिबिया, नेदरल्याण्डस, श्रीलंका र युएई रहेका छन् भने समुह बि मा आयरल्याण्ड, स्कटल्याण्ड, जिम्बाबे र वेस्टइण्डिज रहेका छन् ।
दुवै समुहमा रहेका देशले एक अर्काविरुद्ध एक एक खेल खेल्ने छन् र शिर्ष दुई स्थानमा रहने चार टोली सुपर–१२ मा पुग्नेछन् ।




