काठमाडौँ । भारतले सातौं पटक महिला एसिया कपको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा भारतीय महिला टोलीले श्रीलंकालाई ८ विकेटले पराजित गरेको हो ।
श्रीलंकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । भारतीय बलरको उत्कृष्ट प्रदर्शनका अगाडि श्रीलंकाको टोलीले २० ओभरमा ९ विकेट गुमाएर ६५ रन मात्र बनाउन सक्यो । इनोका रनभेराले सर्वाधिक १८ रन बनाए । भारतका लागि रेणुका सिंह ठाकुरले ३ विकेट लिइन् । राजेश्वरी गेवाड र स्नेह राणाले २–२ विकेट लिइन् ।
जवाफमा भारतले ८.३ ओभरमा २ विकेटको क्षतिमा ७१ रन बनाएर लक्ष्य पुरा गर्यो । स्मृती मन्धानाले छक्का प्रहार गर्दै भारतलाई जित दिलाएकी थिइन् । मन्धनाले २५ बलमा ५१ रन बनाएर अविजित रहिन् । उनले ६ चौका र ३ छक्का प्रहार गरिन् । उनको स्ट्राइक रेट २०४ थियो । कप्तान हरमनप्रीत कौर ११ रन बनाएर अविजित रहिन् ।
एसिया कपको इतिहासमा भारतले श्रीलंकाविरुद्धको पाँचौं फाइनल खेलमा जित हात पारेको छ । यी दुई टोलीबीच अहिलेसम्म ५ वटा फाइनल खेल भइसकेको छ । यी सबैमा भारतले जित हात पारेको छ । भारतीय टोली लगातार आठौं पटक फाइनलमा पुगेको हो ।
एसिया कपको फाइनलमा भारतले श्रीलंकालाई १४ वर्षपछि पराजित गरेको छ । यसअघि सन् २००८ मा यी दुई आमनेसामने भएका थिए ।




