खेलकुद

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा किरणको कप्तानी उत्रदै नेपाल

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्दैछ। घरेलु मैदान दशरथ रंगशालामा नेपालले फिफा इन्टरनेसनल विन्डोअन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

खेलमा राष्ट्रिय टोलीको कप्तानी पुनः किरण चेम्जोङले नै गर्ने भएका छन्। मैत्रीपूर्ण खेलअघि सोमबार आयोजित प्री-कम्फ्रेन्समा राष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईका साथमा किरण प्रस्तुत भएका थिए।
प्री-कम्फ्रेन्स कार्यवाहक प्रशिक्षक हुमागाईले मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीले निरन्तर प्रशिक्षण गरेको र राम्रो नजिता आउने विश्वास व्यक्त गरे। उनले यो निकै महत्वपूर्ण खेल भएकाले जीतको लक्ष्यका साथ नेपाली टीम मैदान उत्रने बताए। उनले आफूले पाएको जिम्मेवारी गम्भीरताका साथ पूरा गर्ने बताए।

त्यस्तै किरण चेम्जोङले खेलाडीहरुले देशका लागि खेल्ने भएकाले कोहीमाथि भेद्भाव गर्न नहुने बताए। यसअघि नेपाल नआएको विषयमा उनले आफूलाई राष्ट्रिय फुटबल टिमबाट बाहिर राखेकाले नै नआएको स्पष्ट पारे। उनले तीन दिन प्रशिक्षण गर्ने मौका पाएको र टीमलाई बलियो बनाएर अघि बढ्ने जिकिर गरे।

यसअघि किरणसहित ११ सिनियर खेलाडी तत्कालीन प्रशिक्षक अब्दुल्ला अल्मुताइरीसँगको विवादपछि टोलीमा थिएनन्। त्यस्तै बंगलादेशका प्रशिक्षक र कप्तालले मैत्रीपूर्ण खेलका लागि निरन्तर अभ्यास गरेको र राम्रो नतिजा ल्याउने विश्वास गरे।

नेपाल र बंगलादेशबीचको खेल मंगलबार साँझ ५:३० बजे सुरु हुनेछ। बंगलादेशविरुद्धको ‘हेड टु हेड’ मा नेपाल निकै पछि रहेको छ। नेपालले बंगलादेशविरुद्ध हालसम्म २४ पटक प्रतिस्पर्धा गरेको छ। जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेलमात्रै जितेको छ। ५ खेल बराबरीमा सकिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *