भक्तपुर।दसैंको पहिलो दिन घटस्थापनामा ब्रम्हायणी मन्दिरमा मेला लागेको छ। सोमबार सुरु भएको यो पर्व १५ दिन धूमधामका साथ मनाइन्छ। पहिलो दिन घरका पूजाकोठा र दसैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ।
पूजाकोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। बिहानै नित्य कर्म सकेर नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले पूजाकोठा वा दसैंघर लिपपोत गरिन्छ। त्यसमाथि यव अर्थात् जौ रोपिन्छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ। यव अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेंलो जमरा लगाउने चलन छ। विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यहीमाथि शक्तिस्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले यसको दिनलाई घटस्थापना भन्ने गरिएको हो। यस दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ।
घटस्थापनाको साइत बिहान १०: २३ बजे रहेको नेपाल पञ्चांग निर्णायक विकास समिति अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए। स्थानियबासीले भक्तपुरका घरघरमा जमरा राख्नको लागि बालुवा माटो लगेका छन् । जमरा राख्नका लागि माटो भाडा किन्न समेत स्थानीयको भीड लागेको छ ।




