काठमाडौँ । साफ च्याम्पियनशिप फुटबलको फाइनलमा आज घरेलु टिम नेपाल र बंगलादेश भिड्दै छन् । खेल नेपाली समय अनुसार साँझ ५ बजे दशरथ रंगशालामा हुदै छ ।साफ च्याम्पियनसिपको बाह्र वर्षे इतिहासमा नेपाली राष्ट्रिय महिला टोलीले पहिलो पटक भारतलाई पराजित गरेको छ ।
सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको महिला साफ च्याम्पियनशिपमा नेपालले यसअघि भारतलाई हराउन सकेको थिएन । शुक्रबारको जीतसँगै नेपाल साफ च्याम्पियनशिपको पाँचौँपटक फाइनलमा पुगेको हो ।
साफ च्याम्पियनशिपमा नेपालले यसअघि चार पटक फाइनल र एक पटक सेमिफाइनलसम्मको यात्रा तय गर्दा भारतविरुद्ध जीत निकाल्न सकेको थिएन ।
घरेलु मैदान विराटनगरमा आयोजित पाँचौँ संस्करणको साफ च्याम्पियनशिपमा घरेलु समर्थकको साथ हुँदाहुँदै पनि नेपालले फाइदा लिन सकेको थिएन । तर यसपटक नेपालले करिब सात हजार दुई सय घरेलु समर्थकको पूरै लाभ उठायो । पाँच पटकको साफ च्याम्पियनशिपको विजेता भारत पहिलो पटक सेमिफाइनबाट बाहिरियो ।
साफको सुरुआती चरणको फाइनल खेलमा पनि नेपाल भारतसँग १–० गोलअन्तरले पराजित हुँदै दोस्रो बनेको थियो । सन् २०१२ मा भएको दोस्रो संस्करणको फाइनल खेलमा पनि नेपाल भारतसँगै ३–१ गोलअन्तरले पराजित भएको थियो । यसैगरी सन् २०१४ मा भएको तेस्रो संस्करणको फाइनल खेलमा पनि नेपाल भारतसँग ६–० गोलअन्तरले पराजित हुदै उपविजेता बनेको थियो ।
सन् २०१६ मा भएको चौथो संस्करणको खेलमा भने नेपाल सेमिफाइनलबाटै बाहिरियो । त्यतिबेला नेपाल सेमिफाइनल खेलमा भारतसँग ३–१ गोलअन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । सन् २०१९ मा भएको पाँचौँ संस्करणमा पनि नेपालले फाइनल खेलमा ३–० गोलअन्तरले भारतसँग पराजित हुँदै दोस्रो स्थानमा चित्त बुझाएको थियो ।
साफ महिला च्याम्पियशिपको इतिहासमा अब नेपालले पहिलो पटक बङ्गलादेशलाई प्रतिद्वन्द्वी पाएको छ । घरेलु समर्थकका माझ नेपाल र बङ्गलादेशबीचको फाइनल खेल आज हुनेछ । सेमिफाइनल खेलमा बङ्गलादेशले भूटानलाई ८–० गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । यसअघिका पाँचै संस्करणको उपाधि भारतले जितेको थियो ।
छटौँ संस्करणमा नयाँ राष्ट्र च्याम्पियन हुने निश्चित भएको छ ।
समूह चरणको खेलमा नेपालले भूटानलाई ४–० गोलअन्तरले पराजित गरेको थियो भने श्रीलङ्कालाई ६–० गोलअन्तरले हराएको थियो ।
बंगलादेशको सामना गर्न तयार छौं- कप्तान एन्जिला
नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले महिला साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग खेल्न टिम तयार रहेको बताएकी छिन् । फाइनलको पूर्वसन्ध्यामा आयाेजित पत्रकार सम्मेलनमा एन्जिलाले टिम पूर्ण तयार अवस्थामा रहेकाे र उपाधि जित्ने दाबी गरिन् ।
‘आगामी खेलको लयलाई कायम राख्न चाहन्छौं । बंगलादेश राम्रो टिम हो । हाम्रो तयारी पनि राम्रो छ । हामी फाइनल खेल्न पूर्ण रुपमा तयार छौं,’ पहिलो पटक नेपालको कप्तानी गरिरहेकी एन्जिताले भनिन् ।
यो सुनौलो मौका गुमाउन चाहदैनौँ- प्रशिक्षक थापा
नेपाल राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक कुमार थापाले महिला साफ च्याम्पियनसिप घरेलु मैदानमा जित्ने सुनौलो अवसर रहेको र यसलाई नगुमाउने बताएका छन् ।
प्रतियोगिताको फाइनलअघि आयोजित पत्रकार सम्मेलनमा थापाले भने, ‘साफ महिला च्याम्पियनसिपले नयाँ विजेता पाउँदैछ । यो सुनौलो मौकालाई हामी गुमाउन चाहदैनौँ । हामी ९० मिनेटपछि घरेलु समर्थकलाई निराशा बनाउन चाहदैनौँ । घरेलु टिम हौं र च्याम्पियनसिप सुरु हुँदादेखि नै उपाधि यही छ । त्यसैले यो उपाधिलाई बाहिर जान दिने पक्षमा हामी छैनौं ।’ थापाले भने ।




