पर्यटन

पर्यटनमा हात्ती संरक्षणबारे सचेतना अभिवृद्धि गर्न विज्ञको जोड

काठमाडौं । पर्यटन प्रवद्र्धनका गतिविधि सञ्चालन गर्दा हात्ती संरक्षणको सचेतनालाई पनि सँगै लैजानुपर्नेमा यस क्षेत्रका विज्ञले जोड दिएका छन् ।

  थाइल्याण्डकी हात्ती संरक्षणविद् तथा सेभ द एलिफेन्ट फाउण्डेशनकी संस्थापक साङ्दुएन लेक चाइलर्टले पर्यटन प्रवद्र्धनसँगै वन्यजन्तु संरक्षण र पर्यावरण जोगाउनेबारे आवश्यक सचेतना फैलाउन जरुरी रहेको बताए ।  

हात्ती सरंक्षणका क्षेत्रमा भएको कार्यको बारेमा जानकारी दिन नेपाल पर्यटन बोर्डमा आज आयोजित छलफलमा संरक्षणविद् चाइलर्टले पर्यटनमा हात्तीको प्रयोग, यसबाट उनीहरुमा पर्न जाने असर तथा त्यसको संरक्षणसहित कसरी पर्यटनलाई अगाडि बढाउन सकिन्छ भन्ने बारेमा आफ्नो अनुभव सुनाएका थिए  ।

  चाइलर्टले दक्षिण एशियामा हात्तीहरूको जीवन सुधार गर्न र तिनीहरूको कल्याणलाई अगाडि बढाउन दुई दशकभन्दा बढी समयदेखि काम गरिरहेकाले संरक्षणवादीका रूपमा विभिन्न सम्मान प्राप्त गरेको छ  । उनले नेपालमा पर्यटनमा हात्तीको प्रयोग हुने गरेको उल्लेख गर्दै पर्यटन बोर्डको माध्यमबाट हात्तीको प्रयोगका विषयमा जनचेतना अभिवृद्धि र हात्तीको प्रयोगलाई निरुत्साहित गर्न आग्रह गरे  ।

बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले चाइलर्टले संरक्षणका क्षेत्रमा गरेको कार्यको प्रशंसा गर्दै उनको  अनुभवबाट नेपालले पनि धेरै सिक्न सक्ने बताए । 

निर्देशक थापाले नेपाल नेचर, कल्चर तथा एडभेन्चरमा आधारित पर्यटकीय गन्त्वय भएको र नेपालमा पर्यटनमा हात्तीको प्रयोग हुने गरेको उल्लेख गर्दै संरक्षणसहितको पर्यटनमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेमा छलफल गर्दै अगाडि बढ्न सकिने बताए ।

  बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले चाइलर्टको अनुभवबाट संरक्षणवादी पर्यटनमा धेरै कुरा सिक्न सकिने उल्लेख गर्दै उनको  संस्थासँग सहकार्य गर्दै संरक्षण पर्यटनलाई जोड दिन सकिने धारणा राखे  ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *