खेलकुद

पूर्वाधार र प्रशिक्षणबिनै राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट

बैतडी । असोजको अन्तिम साताबाट नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशमा हुने तय भएको छ। उक्त प्रतियोगितामा सहभागिता जनाउन जिल्लास्तर र प्रदेशस्तरीय प्रतियोगिता सञ्चालन गरेर उत्कृष्ट खेलाडी छनोट गरिन्छ।

जिल्लास्तरीय छनौटका क्रममा जिल्लास्तरमा प्रशिक्षक र खेल पुर्वाधारबिनै खेलाडी छनोट गरिएका छन्। प्रतियोगिताका लागि बैतडीबाट १३ खेलका १५६ खेलाडी छनोट भएका छन्। चयन भएका खेलाडी प्रदेशस्तरीय प्रतियोगिता खेल्नेछन्। तर जिल्लामा अधिकांश खेलाडी प्रशिक्षक र खेलमैदानको अभावका बीच छनोट गरिएका हुन्।

यहाँ भलिबलका मात्रै एक प्रशिक्षक रहेका र अन्य खेलका प्रशिक्षक नै नरहेका बैतडी जिल्ला खेलकुद समितिले जनाएको छ। प्रशिक्षक र प्रशिक्षणबिनै हरेक वर्ष यहाँका खेलाडीले राष्ट्रिय खेलकुदमा भाग लिन छनोट खेल खेल्ने गरेका छन्।

जिल्लाका खेलाडी राष्ट्रिय प्रतियोगितामा भाग लिँदा प्रशिक्षक र खेलमैदानबिना खेल्ने समस्या वर्षौँदेखिको हो। न त यहाँ कुनै खेलको गतिलो खेलमैदान छ, न कभर्ड हल नै।

खेलमैदान नहुँदा अभ्यास गर्न तथा बन्द प्रशिक्षणका लागि समस्या हुने गरेको क्रिकेट खेलाडी रितु कनौजियाले बताइन्। उनले भनिन्,‘खेलाडीका लागि आवश्य पर्ने खेलमैदानको अभाव छ,खेलमैदानबिनै राष्ट्रिय प्रतियोगितामा भाग लिनुपर्ने बाध्यता छ। यसले गर्दा क्षमतामा निखार आउँदैन।’

कराते, भारोत्तोलन, ब्याड्मिन्टनलगायतका खेलका लागि कभर्ड हल आवश्यक पर्छ। तर यहाँ कभर्डहल नै छैन्। खेलाडी छनोट खुला आकाशमा हुने गरेको कराँते खेलाडी नरेन्द्र कार्कीले बताए। उनले भने,‘यहाँ खुला आकाशमा प्रतिस्पर्धा गरेर छानिएका छौँ। तर प्रदेश र राष्ट्रिय प्रतियोगिता कभर्ड हलमा खेलाइन्छ। जिल्लामा खुल्ला आकाश र माथि गएर कभर्डहलमा प्रतिस्पर्धा गर्दा निकै समस्या हुन्छ।’

यसका साथै यहाँ जहिल्यै प्रशिक्षकबिना खेल्नुपर्ने खेलाडीको नियति छ। प्रशिक्षकबिनै छनोट खेलमा सहभागिता जनाउँदा सबै कुरा थाहा नहुने खेलाडी दिनेश ठगुन्नाले बताए। प्रशिक्षणपछि प्रतियोगितामा सहभागिता जनाउँदा धेरै कुरा नहुने गरेको छ। उनले भने, ‘जिल्लामै प्रशिक्षणपछि प्रतिस्पर्धा गर्दा उत्कृष्ट प्रदर्शन गर्न सकिन्थ्यो होला’, उनले थपे, ‘प्रशिक्षक नहुँदा हामी आफैं सिक्दै खेल्नुपर्छ। धेरै गाह्रो भइरहेको हुन्छ । खेलका नियममा पनि अलमल परिन्छ । माथिल्लो प्रतियोगितामा सहभागिताका लागि जिल्लाबाटै प्रशिक्षण आवश्यक छ।’

प्रशिक्षक नहुँदा पनि राम्रै खेल्ने गरेका खेलाडीलाइै प्रशिक्षक भए अनुशासन खेल नियम लगायतका कुरामा सहज हुने अर्का खेलाडी ऋषिकेश बोहराले बताए। उनले भने, ‘जिल्लाबाटै प्रशिक्षण र बन्द प्रशिक्षणपछि माथिल्लो प्रतियोगितामा सहभागिता जनाएपछि आफ्ना कमजोरी सुधार गरेर खेल्न सकिन्थ्यो तर प्रशिक्षण नहुँदा सोचेअनुसारको प्रदर्शन गर्न नसकेको महशुस हुन्छ।’

यता बैतडी जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले भने खेलमैदान र प्रशिक्षक नहुँदा खेलाडी उत्पादनमा समस्या हुने बताए। हलभित्र खेल्नुपर्ने खेल खुला चौरमा खेलाउनुपरेको र खेलमैदानमै खेलाउनु पर्ने खेलका लागि पनि उपयुक्त मैदान अभाव छ। उनले भने, ‘खेलमैदान नहुँदा सडक तथा विद्यालयका साना साना खेलमैदानमा छनौट खल खेलाउनु परेको छ। खेलाडीको स्वास्थ्य सुरक्षाको दृष्टिकोणले पनि यो जोखिम छ। यहाँ राम्रो प्रशिक्षण नहुँदा माथि गएर प्रतियोगिता जित्न सक्दैनन्, यसले दक्ष खेलाडी उत्पादन हुन सकिराखेका छैनन्।’

यसका साथै प्रशिक्षक नहुँदा पनि जिल्ला छनोट गर्दा निकै समस्या हुने गरेको भण्डारीको अनुभव छ। उनले भने, ‘जिल्ला छनोटका बेला प्रदेशका तराईका जिल्लाबाट प्रशिक्षक बोलाउनुपर्छ, कुनै बेला म आफैँ पूर्व खेलाडी भएकोले प्रशिक्षक अभावमा आफैँ प्रशिक्षक बनेर धेरै खेल खेलाइने गरिएको छ।’

प्रशिक्षकका लागि प्रदेश सरकारलाई पटकपटक माग गरेको भए पनि कुनै सुनुवाइ नभएको भण्डारीको भनाइ छ। सुदूरपश्चिमका तराइका जिल्ला कैलाली र कञ्चनपुरका हरेक खेलका एकभन्दा बढी प्रशिक्षक रहेका भए पनि बैतडीमा भने प्रशिक्षक जहिल्यै अभाव हुन्छ।

‘हामीले हरेक खेलका लागि प्रशिक्षक हुनुपर्ने माग प्रदेश सरकारसँग राखिसकेका छौँ। सरकारसंग खेलकुदसँग सम्बन्धित विभिन्न बैठकमा म स्वयं उपस्थित भएर समस्या दर्शाएको भएपनि प्रतियोगिताका बेला जहिल्यै प्रशिक्षक अभाव रहन्छ।’

पहाडी जिल्लामा प्रशिक्षक पनि आउन पनि आनाकानी गर्ने गरेका र उनीहरुलाई तराईभन्दा पहाडमा सेवा–सुविधा थपेर भए पनि सरकारले पठाउने व्यवस्था गर्नुपर्नेमा भण्डारीको जोड छ। उनले भने, ‘तराईका जिल्लामा एकै खेलका दुई तीन जना पनि प्रशिक्षक हुन्छन्। उनीहरुमध्ये एक एक जना भए पनि पहाडी जिल्ला पठाउने गरी सरकारले व्यवस्था गर्नुपर्छ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *