समाचार

ब्लू ओरिजिनको न्यू शेपर्ड मिशन दुर्घटनाग्रस्त, क्याप्सुल भने सुरक्षित

काठमाडौँ । जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनको न्यू शेपर्ड रकेटको बुस्टर दुर्घटनामा परेको छ ।

तर, यसको क्याप्सुल जीवित रह्यो र सुरक्षित रूपमा पृथ्वीमा फर्कियो । यो एक पेलोड मिशन भएकोले, बोर्डमा कुनै पनि अन्तरिक्ष यात्री थिएनन् । तर यसलाई कम्पनीको अन्तरिक्ष पर्यटनको लागि प्रहारको रूपमा हेरिएको छ ।

ब्लू ओरिजिनले न्यू शेपर्ड रकेट स्थानीय समय अनुसार सोमबार बिहान ८:३० बजे पश्चिम टेक्सासमा कम्पनीको प्रक्षेपण साइटबाट प्रक्षेपण गरिएको थियो । यसमा कुनै अन्तरिक्ष यात्री थिएन, किनकि यो एक पेलोड मिशन थियो । ब्लू ओरिजिनले ट्वीट गर्दै यस दुर्घटनाको जानकारी दिएका छन् । रकेट उड्ने क्रममा बुस्टर फेल हुनेबित्तिकै ‘क्याप्सुल एस्केप सिस्टम’ अर्थात् क्याप्सुल सेभिङ मेकानिजमलाई सक्रिय पारेर क्याप्सुललाई बुस्टरबाट अलग गरेको कम्पनीले जनाएको छ । त्यसपछि क्याप्सुल सुरक्षित रूपमा पृथ्वीमा अवतरण गरिएको थियो । यस दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

यो न्यू शेपर्ड रकेटको २३औं मिशन थियो । यसको नाम अन्तरिक्षमा पहिलो अमेरिकीको नामबाट राखिएको हो । यो असफल हुने ब्लू ओरिजिनको पहिलो मिशन हो । कम्पनीले घटनाको छोटो भिडियो पनि शेयर गरेको छ । एनएस-२३ नामको मिसन अगस्टमा लन्च गर्ने भनिए पनि मौसम खराबीका कारण उडान रोकिएको थियो ।

यो घटना ब्लु ओरिजिन र अमेरिकाको बढ्दो अन्तरिक्ष पर्यटन उद्योगको लागि एक प्रहारको रूपमा हेरिएको छ । ब्लू ओरिजिनले गत वर्ष अन्तरिक्ष यात्राका लागि उडानहरू सुरु गरेको थियो । अहिलेसम्म ३२ जना यात्रुले निश्चित मूल्यमा अन्तरिक्ष यात्रा गरेका छन् । यी यात्रुमा कम्पनीका संस्थापक जेफ बेजोस र स्टार ट्रेकका विलियम शाटनर रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *