भक्तपुर । चाँगुनारायणका नगर प्रमुख जीवन खत्रीले सामुदायिक विद्यालयको निरिक्षण तथा सुपरिवेक्षण कार्यलाई तिब्रता दिएका छन । नगर प्रमुख खत्री नेतृत्वको टोलीले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि निरिक्षण तथा सुपरिवेक्षण कार्यलाई तिब्रता दिएको हो ।
आज सोमबार नगर प्रमुख खत्रीको नेतृत्वमा शिक्षा शाखा प्रमुख बीर बहादुर खड्का सहितको टोलीले ६ वटा सामुदायिक विद्यालयको अनुगमन तथा सुपरिवेक्षण गरेको छ । टोलीले श्रीकृष्ण मावि खरिपाटी,नगरकोट आधारभूत विद्यालय,बागेहिणी माबि र बाल्मिकी आधारभूत विद्यालय,राधाकृष्ण आधारभूत विद्यालय र गणेश माध्यमिक विद्यालयको अनुगमन तथा सुपरिवेक्षण सम्पन्न गरेको हो ।

आजबाट जनप्रतिनिधि,विषय विज्ञ,कर्मचारी सम्मिलित दुई टोली बनाई सामुदायिक विद्यालयको प्रथम चरणको निरिक्षण प्रारम्भ गरिएको नगरपालिका श्रोतले जनाएको छ । निरिक्षण तथा सुपरिवेक्षण कार्य योजनावद्ध र चरणवद्ध रुपमा सबै सामुदायिक विद्यालय, सिकाई केन्द्र संस्थागत विद्यालयमा हुने नगरपालिकाले जनाएको छ । दुईवटा टोलीद्वारा कक्षा कोठा, भौतिक, व्यवस्थापकीय तथा विद्यालयको समग्र पक्षको विस्तृत निरिक्षण एवं सुपरिवेक्षण कार्य सम्पन्न गरी प्रथाम चरणको प्रतिवेदन सार्वजनिक गर्ने नगरपालिकाको तयारी छ ।
शैक्षिक गुणस्तर र विद्यार्थीको भविश्यप्रति चिन्तित शिक्षाप्रेमी मेयर खत्रीले अनुगमनका क्रममा सरकारी तलब खाएर विद्यालयप्रति उत्तरदायी नहुने ६ वटा विद्यालयका ६ जना शिक्षकसँग स्पष्टिकरण लिई थप नियम अनुसार कारबाही प्रक्रिया अघि बढाउन कडा निर्देशन दिएका छन । मेयर खत्री नेतृत्वको टोलीले विद्यालयको दिवा खाजको गुणस्तरको समेत अनुगमन गरेको छ ।

अनुगमन तथा सुपरिवेक्षणका क्रममा नगर प्रमुख खत्रीले सामुदायिक विद्यालयलाई निर्देशनात्मक सुझाव दिएका छन । शिक्षकहरुलाई प्रचलित ऐन नियम अनुसार कार्य गर्न र तोकिएको जिम्मेवारी पुरा गर्नै पर्ने नगर प्रमुख खत्रीले निर्देशन दिएका छन । अनुगमनका क्रममा राम्रो काम गर्ने शिक्षकलाई प्रोत्साहत र खराव काम गर्नेलाई सचेत गराउदै नियम अनुसार कारबाहीको प्रक्रिया अघि बढाइने उनले बतए । पक्षपातपूर्ण व्यवहार नगरी नगरपालिकाले औचित्य र आवस्यकताका आधारमा आफ्नो सामथ्र्यले भ्याएसम्म सबै सामुदायिक विद्यालयलाई भरपुर सहयोग गर्ने अनुगमनका क्रममा नगर प्रमुख खत्रीले स्पष्ट पारेका छन । साधान श्रोतको न्यायोचित वितरण र समयसापेक्ष शिक्षा नीति र कार्यक्रम प्रभावकारी सञ्चालन गर्न विद्यालय व्यवस्थापन समिति र पीटिएले आवश्यक मद्धत गर्नु पर्ने उनको सुझाव थियो ।

सामुदायिक विद्यालयका अभियान्ता समेत रहेका नगर प्रमुख खत्रीले ३ वर्ष अघि श्रीकृण माविको व्यवस्थापन समितिको अध्यक्ष हुँदा आफ्नो छोरालाई समेत सोही विद्यालयमा भर्ना गरेर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरप्रतिको विश्वसनीयता विद्यार्थी तथा अभिभावकहरुलाई दिलाएका थिए । उनले श्रीकृण माविमा अध्यक्ष हुदा शैक्षिक तथा भौतिक गुणस्तर सुधारका लागि गरेको योगदानका कारण एक सय हाराहारी विद्यार्थी संख्या बढेर पाँच सय हाराहारी पुगेको छ ।





