काठमाडौं । जारी महिला साफ च्याम्पियनसिप अन्तर्गत नेपालले आज श्रीलंकाको सामना गर्दै छ । खेल नेपाली समय अनुसार साँझ साढे ५ बजेदेखि शुरु हुने छ ।
यस अघि पहिलो खेलमा नेपालले भुटानलाई ४-० गोल अन्तरले पराजित गरेर प्रतियोगितामा शानदार शुरुवात गरेको थियो ।
समुह बि मा रहेको नेपालले पहिलो जितबाट नै सेमिफाइनलमा लगभग आफ्नो स्थान सुरक्षित गरिसकेको छ । नेपालको एक खेलमा जितसहित ३ अंक छ भने २ खेलमा ३ अंक हासिल गरेको भुटान गोल अन्तरका कारण दोस्रो स्थानमा रहेको छ ।
आज नेपालले श्रीलंकासँग कम्तिमा बराबरी खेलेमा पनि नेपाल समुहमा पहिलो हुदै सेमिफाइनलमा पुग्ने छ । त्यस्तै श्रीलंकाको भने आजको खेलमा सामान्य जितले पनि सेमिफाइनलमा पुर्याउन सक्ने अवस्था देखिदैन । यसका लागि नेपाललाई कम्तिमा ६ गोल अन्तरले पराजित गर्नुपर्ने हुन्छ ।
त्यस्तै समुह ए बाट भने भारत र बंगलादेश आफ्ना अन्तिम खेल अघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।




