तेहरान । बेलायत, फ्रान्स र जर्मनीले सन् २०१५ मा भएको आणविक सम्झौतालाई पुनर्जीवित गर्ने इरानको नियतबारे ‘गम्भीर शंका’ व्यक्त गरेको पछिल्लो वक्तव्य ‘अरचनात्मक’ र ‘सद्भावनाको उल्लङ्घन’ भएको इरानी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीलाई उद्धृत गर्दै बेलायती समाचार एजेन्सी रोयटर्सले लेखेको छ, “यो आश्चर्यजनक र खेदजनक छ । वार्तालाई अन्तिम रूप दिन वार्ता पक्ष र भियना वार्ताका संयोजकबीच कूटनीतिक संवाद र सन्देशआदानप्रदान जारी रहेको वर्तमान परिस्थितिमा ईयूले यस्तो वक्तव्य जारी गर्नु वार्ताको क्रममा फलदायी दृष्टिकोणको मार्गबाट विचलित भएको देखिन्छ ।
सन् २०१५ मा भएको इरानको आणविक सम्झौताको पुनरुत्थानका लागि वार्तालाई अन्तिम रुप दिन इरानको ‘सद्भाव र गम्भीर सङ्कल्प’को उल्लेख गर्दै उनले युरोपेली पक्षलाई ‘सुरुदेखि नै वार्ताको विपक्षमा रहेका र अहिले वार्ता लाई असफल बनाउन सक्दो प्रयास गरिरहेका तेस्रो पक्षको दुष्प्रचारबाट प्रभावित नहुन’ आग्रह गरेका छन् ।
प्रवक्ताले युरोपेली देशहरूलाई धम्कीको सहारा नलिन पनि चेतावनी दिएका छन्।
यसअघि शनिबार नै फ्रान्स, जर्मनी र बेलायतले एक संयुक्त वक्तव्य जारी गर्दै इरानले आणविक सम्झौताको उद्धारका लागि इयूले हालै बुझाएको ‘अन्तिम दस्तावेज’ ले दिएको ‘यो महत्वपूर्ण कूटनीतिक अवसरको फाइदा नलिने निर्णय गरेको’ बताएका थिए ।
सन् २०१५ को जुलाईमा इरानले विश्वका प्रमुख देशहरूसँग आणविक सम्झौता (जेसीपीओए) मा हस्ताक्षर गरेको थियो र इरानमाथिको प्रतिबन्ध हटाउने बदलामा आफ्नो आणविक कार्यक्रम लाई रोक्न सहमत भएको थियो । यद्यपि, पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनलाई सम्झौताबाट फिर्ता गर्दै तेहरानमाथि एकपक्षीय प्रतिबन्धहरू पुनः लागू गर्नुभएको थियो । यसले गर्दा तेहरानले सम्झौता अन्तर्गतका आफ्ना केही प्रतिबद्धताहरू फिर्ता लिएको थियो ।
पाँच महिनाको अन्तरालपछि गत अगस्टको सुरुमा अस्ट्रियामा आणविक वार्ताको पछिल्लो चरण सम्पन्न भएको थियो । अगष्ट ८ मा इयूले जेसीपीओएलाई पुनर्जीवित गर्ने निर्णयको मस्यौदाको ‘अन्तिम पाठ’ अघि सारेको थियो । इरान र संयुक्त राज्य अमेरिकाले हालै अप्रत्यक्ष रूपमा ईयूको प्रस्तावमा विचार आदानप्रदान गरेका छन् ।




